न्युयोर्क सिटीको ट्रेन स्टेशनमा छोरीसहित हामफाले बाबु, ट्रेनमुनीबाट निस्केर बचिन् छोरी
प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार
न्युयोर्क सिटीको ब्रोंक्स ४ नम्बर ट्रेन स्टेशनमा सोमबार ४५ बर्षका एक व्यक्ति छोरीसहित हामफाले । हुइकिएर आएको ट्रेनले बाबुलाई ठक्कर दियो र बाबुको मृत्यु भयो । तर ट्रेनको दुईवटा लिकको बीचमा परेकी ५ बर्षकी छोरी भने ट्रेनमुनीबाट घस्रिएर बाहिर निस्कन सफल भएकी छिन् ।
ती बालिकाको टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । ट्रेनमुनीबाट घस्रिएर बाहिर निस्किएकी बालिकालाई ट्रेन स्टेशनमा जम्मा भएकाहरुले लिकबाट बाहिर तानेका थिए । उनको ब्रोक्समा रहेको ज्याकोबी अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीहरुले ती व्यक्ति ट्रेन स्टेशनमा हाम फालेर बालिकालाई पनि तानेका थिए । घटनापछि उडलन र बर्न साइड एभिन्युबीच ४ नम्बर ट्रेन केहीबेरका लागि बन्द गरिएको थियो ।
अस्पताल लगेपछि बालिकालाई आमासँग पनि भेट गराइएको छ । भिडियोमा कैद गरिएको दृश्यमा बालिका ट्रेनमुनीबाट घस्रिएर निस्केको दृश्य स्पष्ट देख्न सकिन्छ ।








