अमेरिकामा यौन दुराचारको आरोप लागेका नेपाली अदालतबाट निर्दोष सावित
प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार
अमेरिकाको पोर्टल्याण्डमा यौन दुब्र्यबहारको आरोप लागेका नेपाली सुद्धोधनमान रञ्जितलाई अदालतले निर्दोष ठहर गरेको छ । तेक्वान्दो प्रशिक्षक रञ्जितलाई गत नोभेम्बरमा यौन दुब्र्यबहारको अभियोगमा पक्राउ गरिएको थियो ।
उनीमाथि केही बालिकाहरुमाथि यौन दुब्र्यबहार गरेको आरोप लगाइएको थियो । तर उनीमाथि लगाइएका सबै अभियोगहरुलाई अदालतले गलत प्रमाणित गरिदिएको छ ।
उनीमाथि सन् २०१२ देखि १५ को बीचमा बालिकाहरुमाथि यौन दुब्र्यबहार गरेको आरोप लगाइएको थियो । नोभेम्बरमा पक्राउ परेपछि उनले आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिदै आएका थिए । बीचमा धरौटीमा रिहा गरिएका उनलाई मुद्दा चलिरहेको बेलामा अमेरिका छाड्न लागेको आशंका गर्दै अगस्तको अन्तिम साता पुन पक्राउ गरिएको थियो ।
रञ्जितमाथि फस्ट डिग्री यौन दुब्र्यबहारका १५ अभियोग लगाइएको थियो भने सेकेण्ड डिग्री यौन दुब्र्यबहारका ४ अभियोग लगाइएको थियो । सुरुमा तीनजना बालिकामाथि यौन दुब्र्यबहारको आरोप लगाइएपनि पछि मार्चमा थप २ जना बालिकाहरुमाथि यौन दुब्र्यबहारको आरोप लगाइएको थियो ।
यदि आरोप प्रमाणित भएको भएमा उनलाई ६० बर्षसम्मको जेल सजाय हुनसक्ने थियो । बालिकामाथि यौन दुब्र्यबहारको मामलामा हरेक चार्जमा अमेरिकामा कम्तीमा ६ बर्षको जेलसजाय हुनसक्ने प्रावधान रहेको छ ।