बर्नी स्याडर्सका योजना : देशनिकालामा रोक, आइसको छापा अन्त्य, सिमानामा पर्खाल निर्माणमा रोक


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपतिमा उम्मेदवारीको घोषणा गरेका बर्नी स्याण्डर्सले बिहिबार अध्यागमनबारेको बृहत योजना सार्वजनिक गरेका छन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भएमा कैयन कार्यकारी आदेशहरु र विधायकी कार्यविधिबाट अमेरिकाको अध्यागमन प्रणाली पुनसंरचना गर्ने घोषणा गरेका छन् ।

उनले कागजपत्रविहिनलाई देशनिकालामा रोक लगाउने, आइसको छापा अन्त्य गर्ने, मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल निर्माणको काम रोक्ने, कागजपत्रविहिन परिवारहरु अलग्याउने काम रोक्ने र नाफामुलक हिराशतहरु बन्द गर्ने घोषणा गरेका छन् । सबैका लागि सुरक्षित र स्वागतयोग्य अमेरिका बनाउने उनको योजना अनुरुप उनले एसाइलमबारेको ट्रम्प प्रशासनले ल्याएको कार्यदिशा उल्टाउने बताएका छन् ।

 

त्यस्तै घरेलु र गिरोह हिंशाको शिकार भएकाहरुलाई अमेरिकामा एसाइलमका लागि अनुमति दिने, ट्रम्पको पब्लिक चार्जको नियम उल्टाउने, आम्दानीको आधारमा आप्रवासीमाथि भेदभाव हुन नदिने स्याण्डर्सको घोषणा छ । त्यस्तै टीपीएसवाहकलाई अमेरिकामा स्थायी बसोबासका लागि मार्ग प्रसस्त गर्ने समेत उनको घोषणा छ ।

बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेकाहरुको कानुनी हैसियत थप गर्ने, उनीहरुका बाबुआमालाई राहत दिने लगायतका योजना समेत स्याण्डर्सले अगाडि सारेका छन् । अमेरिकाका कम्तीमा ५ बर्ष बसेका कागजपत्रविहिनलाई देशनिकाला हुनबाट जोगाउने कार्यकारी अधिकारको प्रयोग गरेर उक्त कदम चाल्ने योजना स्याण्डर्सले बनाएका छन् ।

यी बाहेक उनले वातावरण परिवर्तन, कामदारका अधिकार लगायतका कैयन क्षेत्रमा समेत विभिन्न परिवर्तनको घोषणा गरेका छन् । स्याडर्सले अमेरिकी राष्ट्रपतिको चुनावका लड्नका लागि डेमोक्रेटिक पार्टीभित्रको प्राइमरीमा विजय हासिल गर्न जरुरी छ । गत चुनावमा उनले प्राइमरीमा हिलारी क्लिन्टनसँग हारेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com