घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गर्नुभयो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।

सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुग्नुभएको थियो ।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com