गोरखाली समाज न्युयोर्कको कार्यक्रममा केन्द्रका अध्यक्षको अपमान, अध्यक्षबाट राजिनामा


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

शुक्रबार न्युयोर्कमा गोरखाली समाजको न्युयोर्क च्याप्टरले आयोजना गरेको देउसीभैलो कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्षकै अपमान भएको छ ।

कार्यक्रमको सुरुवात हुनु अगाडिदेखि नै कार्यक्रमस्थलमा पुगेका गोरखाली समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठको कार्यक्रम अवधिभर न नाम लिइयो, न त आसन ग्रहण नै गराइयो । कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र बुद्धीजीवी डाक्टर तारा निरौलालाई मञ्चमा अतिथिका रुपमा आसनग्रहण गराइयो, कार्यक्रममा उपस्थीति विभिन्न व्यक्तित्वको नाम लिएर माला र अविर लगाइयो तर आफै संस्थाका केन्द्रीय अध्यक्षको भने नाम समेत उच्चारण गरिएन ।

कार्यक्रममा उपस्थीत काउन्सिलम्यान फर्नान्डो काबरेरा र कलाकारहरुलाई सम्मान गर्दा पनि अध्यक्षलाई मञ्चमा बोलाइएन, च्याप्टरका अध्यक्ष र डाक्टर तारा निरौलामार्फत नै माला र अविर लगाइयो । कार्यक्रमको लगभग अन्त्यसम्म नै बसेका गोरखाली समाज अमेरिकाका केन्द्रीय अध्यक्षलाई अपमानित महसुस हुने गरी च्याप्टरका तर्फबाट गरिएको व्यवहारले संस्थाको भविश्यलाई नै संकटमा पारेको छ ।

आफू अपमानित भएपछि गोरखाली समाज अमेरिकाका अध्यक्ष श्रेष्ठले संस्थाको अध्यक्ष पदबाट छुटकारा लिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तर उनले आफूले औपचारिक रुपमा नै राजिनामा दिए नदिएकोबारे भने केही बताएका छैनन् ।

गोरखाली समाज न्युयोर्कले गरेको देउसी भैलोमा आफू उत्साहपूर्वक पुगेको तर कार्यक्रममा गरिएको हेलचेक्राई हेर्दा जुन कुरा सोंचेर संस्थको जन्म गराइएको थियो त्यो भन्दा भिन्दै दिशा समातेको अनुभव भएको उनले जनाएका छन् । मुर्खहरुको राजा हुनुभन्दा विद्धानहरुको नोकर हुनु ठीक भन्ने दार्शनिकको भनाईलाई आत्मसाथ गर्दै आफूले संस्थाबाट छुटकारा लिएको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com