‘अमेरिकी भिसाका लागि स्वास्थ्यविमा अनिवार्यको नियम भिजिटर भिसामा लागु हुँदैन’ -केशव सेडाई


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

अमेरिकी भिसा आवेदन दिने आप्रवासीहरुले आफूहरु स्वास्थ्योपचारका लागि सक्षम भएको प्रमाणित गर्न सक्नुपर्ने अमेरिकी राष्ट्रपतिको नयाँ घोषणा गैर आप्रवासी भिसा वाहकका सन्दर्भमा भने लागु नहुने कानुन व्यवसायी केशवराज सेडाईले स्पष्ट पार्नुभएको छ । उहाँले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘नोभेम्बर ३ देखि लागु हुने यो नयाँ नियम भिजिटर, विद्यार्थी लगायतका गैर आप्रवासी भिसा आवेदकका सन्दर्भमा लागु हुनेछैन ।’

नयाँ नियमले अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपेको सेडाईले स्पष्ट पार्नुभएको छ । अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्ने सेडाईले जानकारी दिनुभएको छ ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका छन् । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा लागु हुनेछ ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको छ । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछ ।

अब अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने छ भने रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइनेछ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।

१ बर्षको अल्पकालिन स्वास्थ्य विमा, पारिवारिक सदस्यको स्वास्थ्य विमा, एकबर्षको भिजिटर स्वास्थ्य विमा योजनालाई पनि मान्यता दिइनेछ ।

नोभेम्बर ३ भन्दा अगाडि नै अमेरिकाको आप्रवासी भिसा प्राप्त गरिसकेकाहरुको सन्दर्भमा नयाँ नियम लागु नहुने जनाइएको छ । अमेरिकी नागरिकका छोराछोरीहरुका सन्दर्भमा, विशेष भिसाका सन्दर्भमा पनि नयाँ नियम लागु नहुने जनाइएको छ ।

नयाँ नियमको पूर्ण पाठ ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com