महराका चारकाण्ड !


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पछिल्लो समय संसदकै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा परे । उनले यसै आरोपमा राजीनामा दिएका छन्। संसद्‌कै कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्।

नेपालको संसदीय इतिहासमा सभामुखमाथि लागेको यो स्तरको आरोप पहिलो हो। सभामुखमात्रै होइन, राज्यका अन्य कुनै पनि अंगका प्रमुखमाथि पदमा बहाल रहेकै अवस्थामा यस किसिमको आरोप लागेको थिएन। त्यसो त महरा बेलाबेलामा विवादमा परिरहन्छन्।
उनका विवाद यस्ता छन् ।

टेप प्रकरण

२०६७ भदौमा सार्वजनिक एक अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड मागेका थिए। अडियो प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै उनीसँग ५० करोड रुपैयाँ मागिएको थियो। सांसद किनबेचको विषय नेपाली राजनीतिमा नयाँ थिएन। तर, मूल्य नै तोकेर फरक देशका नागरिकसँग रकम मागिएपछि त्यसले केही समय चर्चा पायो। तर, महराले अडियोमा बोल्ने आफू नभएको र प्रविधिको युगमा कसैले त्यस्तो अडियो बनाएको हुन सक्ने भन्दै बचाउ गरे।

भुरा माछा

२०७३ पुसमा अर्थमन्त्री थिए, महरा। पोखरामा आयोजित एक कार्यक्रममा उनले त्यतिबेलाको चर्चित सुनकाण्डबारे बोले। तस्करी गरी ल्याइएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको थियो। सो प्रकरणमा त्यसमा आफू भुरा माछा मात्रै भएको उनले बताए।

‘पछिल्लो सुन तस्करी काण्डमा मेरो त नाम पनि जोडिएर आएको छ, हामी त फगत पात्र हौं, म सबै कुरा अहिले भन्न चाहन्नँ। यसमा धेरै ठूलाठूला माछा छन्। हामी त भुरा माछा मात्र हुन्छौं’, उनले भनेका थिए ।

लडाकु शिविरको रकम हिनामिना

आजसम्म तत्कालीन माओवादी नेतृत्वलाई टाउको दुखाइको विषय बनाइरहेका केही विषयमध्ये एउटा हो, लडाकु शिविरको रकम हिनामिना।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा उनीहरुको सेना व्यवस्थापन र भरणपोषणका लागि राज्यले करोडौं रकम खन्यायो। त्यो रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए।

यो प्रक्रियामा कति रकम बाहिरियो, कति सम्बन्धित कामका लागि खर्च भयो र कति दुरुपयोग भयो भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन। तर, रकम हिनामिना गरिएको हो भन्नेचाहिँ महालेखाको कार्यालयले देखाएको बेरुजुले प्रस्ट पार्छ। बेलाबेलामा अख्तियारले यस विषयमा छानबिन गर्ने कुरा गरे पनि प्रक्रिया अघि बढेको छैन।

महिलामाथि बलात्कार आरोप, राजीनामा

संसद्‌की कर्मचारीमथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिए। उनले आइतबार रक्सी खाएर ती महिलाको कोठामा गएको र दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छिन्। कोठामा गएको र रक्सी खाएको विषयलाई महराले विभिन्न सञ्चारमाध्यममार्फत स्वीकार गरिसकेका छन्। यद्यपि, अन्य आरोपलाई भने उनले अस्वीकार गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com