कृष्णबहादुर महराले दिए सभामुखबाट राजिनामा
प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार
संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि कृष्णबहादुर महराले सभामुखबाट राजिनामा दिएका छन् ।
सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन्।
विभिन्न सञ्चार माध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको पत्रमा महराले उल्लेख गरेका छन् ।

सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
यौन दुर्व्यवहार भोगेको बताउने महिलाले आफूलाई महराले कुटपिटसमेत गरेको आरोप लगाउँदै आफ्नो तीनकुनेस्थित भाडाको फ्ल्याटमा महराको चस्माको टुक्रा, जुत्ताको भाग आदि छुटेको दाबी गरेकी छन् । यसबाहेक सभामुखसँग त्यहाँ आउनुअघि र पछि पनि फोन र भाइबरमार्फत कुराकानी भएको उनको भनाइ छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट राजिनामा गर्न सुझाव दिने निर्णय गरेको थियो। त्यसपछि सभामुखको राजीनामा आएको हो।








