Follow @khasokhasmag

अक्टोबरमा ग्रिनकार्डबाहकले दम्पत्ति र छोराछोरीका लागि आई १३० सँगै ग्रिनकार्ड फाइल गर्नसक्ने


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

अक्टोबर महिनामा पनि अमेरिकी ग्रिनकार्डकार्डवाहकले दम्पत्ति र २१ बर्ष नपुगेका अविवाहित छोराछोरीहरुका लागि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन समेत फाइल गर्नसक्ने भएका छन् । गत जुलाईदेखि सृजना भएको यो अवस्था नयाँ आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा समेत कायम हुने भएको छ ।

आई १३० सँगै आई ४८५ ग्रिनकार्ड आवेदन दिनका लागि दम्पत्ति वा छोराछोरी अमेरिकामा नै भएको हुनुपर्छ । अमेरिकाबाहिर दम्पत्ति र छोराछोरीहरु हुनेहरुका सन्दर्भमा भने उनीहरुको आवेदन युएससीआईएसले नेशनल भिसा सेन्टरमा पठाएर प्रकृया अगाडि बढाउँछ ।

अक्टोबर महिनाका लागि जारी गरिएको भिसा बुलेटिन अनुशार परिवारमा आधारित एफ टु ए क्याटेगोरी करेन्ट भएको छ । जसको अर्थ ग्रिनकार्ड बाहकले पनि अमेरिकी नागरिक सरह नै दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदनका साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाउने भएका छन् ।

आई ४८५ आवेदन दिइसकेपछि ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुले वर्क परमिट आवेदन दिएर अमेरिकामा कानुनी रुपमा काम गर्न पाउनेछन् । उनीहरुले विगतमा जस्तो भिसा करेन्ट हुन्जेल पर्खेर विभिन्न तरिकाले आफ्नो गैरकानुनी उपस्थीति हुनबाट बच्ने झन्झट हुनेछैन ।

त्यस्तै आई १३० स्वीकृत नभएका तर दम्पत्ति र छोराछोरी अमेरिकामा नै भएकाहरुले आई १३० पेन्डिङ अवस्थामा नै रहेका बेला आई ४८५ ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । जसका कारण भिसा जोगाइराख्ने झन्झट हुनेछैन भने त्यसको आधारमा वर्क परमिट वा अमेरिकाबाहिर यात्रा गर्ने एड्भान्स परोल जस्ता सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

कानुन व्यवसायीहरुले यो समय विवाह गर्न चाहने ग्रिनकार्डवाहकका लागि सुनौलो मौका रहेको जनाएका छन् । अर्थात् श्रीमान् श्रीमति नै अमेरिका रहेको सन्दर्भमा अहिले विवाह गरेर आवेदन दिनेले आई १३० आवेदनका साथमा आई ४८५ आवेदन समेत दिन सक्नेछन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com