न्युयोर्कमा अमेरिकी अध्यागमन नीतिबिरुद्ध प्रदर्शन गर्ने ७६ जना पक्राउ


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

न्युयोर्कको म्यानहटनमा माइक्रोसफ्टको ध्वजावाहक स्टोरअगाडि अमेरिकी आप्रवासन नीतिबिरुद्ध प्रदर्शन गर्ने ७६ जनालाई न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँगको ब्यापार रोक्न माइक्रोसफ्टसँग माग गर्दै प्रदर्शन गरेका थिए ।

क्लोज द क्याम्प नामको अधिकारवादी संस्थाका तर्फबाट प्रदर्शन गरिएको थियो । आइससँग ब्यापार गरेको मूल्य माइक्रोसफ्टले यसरी चुकाउनुपर्छ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । उनीहरुले माइक्रोसफ्टलाई आइससँगको डाटा प्रोसेसिङ सम्झौता रद्द गर्न माग गरेका थिए ।

गत जुलाईमा माइक्रोसफ्टले एक वक्तब्य जारी गर्दै सिमाक्षेत्रमा बालबालिका र परिवारलाई अलग गर्ने कुनै पनि परियोजनामा आफूहरुले आइस वा सीबीपीसँग काम नगरेको जनाएको थियो । शनिबारका प्रदर्शनकारीहरु स्टोरभित्र छिरेर भुईमा समेत बसेका थिए । अरु प्रदर्शनकारीहरु हातेसांग्लो बनाएर बाटो अबरुद्ध गर्दै स्टोरबाहिर उभिएका थिए ।

गत अगस्तमा पनि न्युयोर्क सिटीको मुख्य मार्ग अबरुद्ध गर्दै प्रदर्शन गर्ने १ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अभद्र आचरणको अभियोग लगाएर पछि रिहा गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com