न्युयोर्कको रकफेलर सेन्टरमा नेपाली सहित ३३ देशका ५० जनालाई अमेरिकी नागरिकता दिइदै


प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार

अमेरिकाको नागरिकता दिवस र संविधान दिवसको अवशरमा मंगलबार न्युयोर्कको रकफेलर सेन्टरमा ३३ देशका ५० जना आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । युएससीआईएसले मंगलबार विहान साढे १० बजे आयोजित सपथ समारोहमा उनीहरुलाई स्वागत गर्न लागेको हो ।

मंगलबार नागरिकता प्राप्त गर्नेहरुमा नेपाली समेत रहेको युएससीआईएसले जनाएको छ । बंगालादेश, भारत, नेपाल लगायतका देशबाट आएर म्यानहटन, ब्रोंक्स र न्युयोर्क सिटीका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुलाई नागरिकता प्रदान गर्न लागिएको हो ।

सेप्टेम्बर १७ मा अमेरिकामा संविधान दिवस र नागरिकता दिवस मनाइदैछ । सन् १७८७ सेप्टेम्बर १७ मा अमेरिकी संविधानमा हस्ताक्षर गरिएको थियो । तर अमेरिकामा संविधान दिवस भने सन् १९४० देखि मनाउन लागिएको हो ।

सन् १९५२ देखि अमेरिकामा नागरिकता दिवस मनाउन थालिएको थियो । पछि संविधान सप्ताहका रुपमा मनाउन थालिएको हो । युएससीआईएसले संविधान दिवस र नागरिकता दिवसका अवशरमा नागरिकता प्राप्त गरेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहित गरेको छ ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गर्नुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षमा अमेरिकी नागरिकताका लागि योग्य हुने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com