सिमाक्षेत्रबाट आउनेलाई एसाइलम लगभग असम्भव बनाइएपछि युएससीआईएसको स्वागत


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने वा विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिकामा एसाइलम दावी गर्नेहरुका लागि लगभग एसाइलम असम्भव बनाउने सर्बोच्च अदालतको फैसलाको युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले स्वागत गरेका छन् । सर्बोच्च अदालतले मेक्सिकोको सिमाक्षेत्रमा आएर एसाइलम आवेदन दिनका लागि योग्य हुन बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत हुनुपर्ने नियम कार्यान्वयनका लागि बाटो खोलेको हो ।

सर्बोच्चको फैसला : अमेरिकी सिमाक्षेत्रमा एसाइलम अब लगभग असम्भव

बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएकाहरुमात्र अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलमका लागि योग्य हुनु भनेको व्यवहारत सिमाक्षेत्रमा एसाइलम लगभग असम्भव हुनु रहेको कानुन विदहरुको विश्लेषण रहेको छ । युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले सर्बोच्चको फैसलाको स्वागत गर्दै यो परिणाम ल्याउनका लागि डिपार्टमेन्ट अफ जस्टिसका सरकारी वकिलहरुले गरेको प्रयास प्रशंसनीय रहेको बताएका छन् ।

लामो समयदेखि अमेरिकी एसाइलम प्रणालीका छिद्रहरु मानव तस्कर र अपराधीहरुले दूरुपयोग गर्दै आएको बताउँदै उनले ट्रम्प प्रशासनको नियम एसाइलमलाई सुदृढ बनाउनका लागि रहेको बताएका छन् । एकातर्फ बाटोमा पर्ने देशमा एसाइलम गरेर अस्वीकृत नभएकाहरु अमेरिकामा एसाइलमका लागि अयोग्य हुने र अर्कोतर्फ सिमाक्षेत्रमा एसाइलम गर्नेहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइने नीतिले सिमाक्षेत्रमा नीतिगत पर्खाल लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com