मेक्सिकोले कडाई गरेपछि अमेरिका छिर्ने आप्रवासीको संख्या घट्यो


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

मेक्सिकोले अर्को देशबाट आफ्नो देशमा गैरकानुनी रुपमा आप्रवासीहरुलाई प्रवेशमा कडाई गरेपछि सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने आप्रवासीहरुको संख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकासँगको सहमति अनुरुप मेक्सिकोले आफ्नो देशमा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुमाथि रोक लगाउन सिमाक्षेत्रमा शक्ति परिचालन गरेको थियो ।

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने आप्रवासीहरु मेक्सिकोको बाटो हुँदै आउने गरेका छन् । अमेरिकाको मेक्सिकोको बाटो हुँदै अमेरिका छिर्ने आप्रवासीहरुलाई मेक्सिको प्रवेशमा नै रोक नलगाए मेक्सिकोको सामानमा २५ प्रतिशतसम्म कर लगाउने अमेरिकाले चेतावनी दिएको थियो ।

अगस्त महिनामा पक्राउ पर्नेहरुमा अमेरिका छिर्नका लागि परिवारसहित यात्रा गरिरहेका र अभिभावक विनाका बालबालिकाहरु ५७ प्रतिशत रहेका छन् । जुलाई महिनाको तुलनामा यो संख्यामा ६७ प्रतिशत कमि आएको छ भने मे महिनाको तुलनामा ७२ प्रतिशतले कमी आएको छ ।

अगस्तमा अमेरिकी सिमा सुरक्षा गस्तीले कुल ५० हजार ६ सय जनालाई पक्राउ गरेको छ । जबकी जुलाईमा ७२ हजार र मे महिनामा १ लाख ३२ हजार पक्राउ परेका थिए । पोर्ट अफ इन्ट्रीबाट पनि अगस्तमा १३ हजार ३ सयलाई फिर्ता पठाइएको छ । जुलाईमा पोर्ट अफ इन्ट्रीबाट १० हजार जनालाई फिर्ता पठाइएको थियो ।

अमेरिकामा एसाइलमको दावी गरेर मेक्सिकोमा कुरिरहेकाहरुको संख्या झण्डै १९ हजार रहेको छ । अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई एसाइलम सुनुवाईसम्मका लागि मेक्सिकोमा नै कुनुपर्ने सरकारी नियम लागु भएयता अहिलेसम्म ४२ हजार आप्रवासीहरुलाई सुनुवाईसम्मका लागि कुर्नका लागि मेक्सिको फिर्ता पठाइएको छ, जसमध्ये कैयनको अदालती सुनुवाई समेत भइसकेको छ ।

सीबीपीका कार्यकारी कमिश्नर मार्क मोर्गनले सिमानाको संकट समाधानका लागि मेक्सिको लगायत मध्य अमेरिकी सरकारहरुको भर पर्न नसकिने बताएका छन् । उनले त्यसका लागि प्रशासनिक नीति पारित गर्न संसदसमक्ष माग गरेका छन् । अमेरिकाले ग्वाटेमाला लगायतका अन्य देशलाई पनि अमेरिकातिर आउँदै गरेका आप्रवासीहरुलाई शरण दिन दवाव दिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com