‘मलाई अमेरिकी बिमानस्थलबाट अपराधीलाई जस्तो व्यवहार गरेर फिर्ता पठाइयो’


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

उनी भिजिटर भिसामा अमेरिका आउँदै थिए । जुन भिसाले उनलाई अमेरिकामा अस्थायीरुपमा प्रवेश गरेर घुम्न अनुमति प्रदान गथ्र्यो ।

टेक्सासको जर्ज बुस इन्टरनेशनल एयरपोर्टमा ओर्लिएका उनी पाकिस्तानबाटको लामो यात्राका कारण निकै थकित थिए । तर उनी आफ्ना कजनलाई भेट्न निकै आतुर थिए । किनभने उनीहरुको बर्षौपछि भेटघाट हुँदै थियो ।

उनी इमिग्रेशनको लाइनमा लागिरहेका थिए, त्यतीबेला कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अफिसर उनी भएसमक्ष आए । अधिकारीले उनलाई अमेरिका आउनुको कारण सोधे । उनले आफू बिदाको समयमा घुमफिरका लागि आएको बताए । अफिसरले उनको पासपोर्ट मागेर छापहरु चेक गर्न लागे ।

उनको पासपोर्टमा साउदी अरब भ्रमण गरेको रेकर्ड थियो । अफिसरले उनलाई साउदी अरब भ्रमण गर्नुको कारण सोधे । उनले आफू हजका लागि साउदी अरब गएको बताए । मुस्मिल भएका कारण जीवनमा एकपटक भएपनि मक्का जानुपर्ने मान्यता रहेकाले आफू हजका लागि गएको उनले स्पष्ट पारे ।

त्यसपछि अफिसरले उनको पासपोर्ट फिर्ता दिए । त्यसपछि उनी लाइनमा नै उभिरहे । आफ्नो पालो आएपछि उनी सीबीपी अफिसर भएको बुथमा गए र पासपोर्ट बुझाए । अफिसरले बारम्बार एउटै प्रश्न सोध्न थाले । उनले जवाफ दिइरहे । तर उनको जवाफबाट असन्तुष्ट अफिसरले उनलाई छुट्टै कोठामा लगे । जुन कोठा मुख्य इमिग्रेशन हलभन्दा बाहिरपट्टी थियो ।

अफिसरले उनलाई उनको काम, यात्राको इतिहास सोधे ।

‘अमेरिकामा कति समय बस्ने योजना छ ?’ – अफिसरले सोधे ।

उनले भने – ‘तीनमहिना । फ्लोरिडाको डिज्नी वल्र्ड र न्युयोर्क पनि घुम्छु ।’

त्यसपछि अफिसरले उनको ह्याण्डक्यारी खोतल्न लागे । उनको कम्प्युटर र अरु सामानहरु बाहिर निकाले । त्यसपछि अफिसरले उनको फोन नियन्त्रणमा लिए ।

फोन अनलक गर्न लगाएर अफिसर फोनसहित अर्को कोठामा गए ।

झण्डै ६ घण्टासम्म उनलाई उज्यालो, चिसो र झ्याल नभएको प्रतिक्षा कक्षमा राखियो । त्यहाँ कतै ढल्किने ठाउँ पनि थिए ।

जब अफिसर फर्किए । उनीमाथिको सोधपुछ पुन सुरु गरियो । अफिसरले उनी अमेरिकामा के गर्ने योजनामा छन् भन्नेबारेमा विस्तारमा जान्न चाहेको बताए । अफिसरलाई उनलाई अमेरिका गएर ग्यास स्टेशनमा काम गर्ने योजना बनाएको आरोप बारम्बार लगाए ।

तर उनले अफिसरको आरोप अस्वीकार गरे । उनले अमेरिकामा आफ्नो काम गर्ने कुनै योजना नरहेको बताए । अफिसरले उनलाई बारम्बार अमेरिकामा बस्ने आशय रहेको बारे सोधपुछ गरिरहे, उनले उक्त आरोप अस्वीकार गरिरहे ।

त्यसपछि अरु दुईजना अफिसरहरु आएर सोधपुछ सुरु गरे । पहिलेका अफिसरले उनको झोला खानतलासी गरिरहे । अफिसरले उनको झोलाबाट एउटा उपहार बाहिर निकाले जुन अरबिक आर्ट थियो । उनले त्यो उपहार आफ्ना कजनका लागि ल्याएका थिए ।

केहसमयपछि अफिसरले उनलाई मोबाइल फोनबाट एउटा तस्वीर देखाए, जुन सन् २००९ को तस्वीर थियो । एकजना हत्या गरिएका बालकको तस्वीर थियो, जुन इन्टरनेटमा पनि भाइरल भएको थियो । त्यो तस्वीर उनलाई कसैले ह्वाट्सएपमा पठाएको थियो ।

ह्वाट्सएपको तस्वीर आफै ग्यालरीमा सेभ भएको थियो । वास्तवमा त्यो तस्वीर अभिभावकलाई आफ्ना बालबालिकाहरु अपहरित हुनसक्ने तर्फ सचेत गराउनका लागि प्रयोग गरिएको थियो । अफिसरले यो तस्वीर कस्ले पठाएको हो भनेर सोधपुछ गरिरहे ।

उनले हजका क्रममा सन् २०११ मा भेटभएका एकजनाले त्यो तस्वीर ह्वाट्सएपमा पठाएको बताए । उनले त्यो तस्वीर इन्टरनेटमा पनि सहजै पाउन सकिने कुरा अफिसरलाई बताए । तर अफिसरले भने उनको ह्वाट्सएप समुहका सदस्यहरुबारे चासो देखाए । अफिसरले यो तस्वीर मोबाइल फोनमा भेटिएकाले यसबारे उनले जिम्मेबारी लिनुपर्ने बताए ।

अफिसरले भने – ‘हामीले यो तस्वीर तिम्रो फोनमा भेटाएका छौं । त्यसैले यसको जिम्मेबारी तिमीले लिनुपर्छ ।’

अफिसरले उनलाई मानव शरिरका अंगको ओसार पसारमा संलग्न भए नभएकोबारे पनि सोधे ।

झण्डै १५ घण्टासम्मको प्रश्नोत्तर र सोधपुछपछि उनलाई अमेरिका छिर्न दिइएन र उनको अमेरिकाको ५ बर्षे भिसा खारेज गरियो । उनका परिवारका अन्य सदस्यको पनि भिसा खारेज गरिने अफिसरले चेतावनी दिए ।

अफिसरले उनलाई ‘अमेरिकामा एसाइलम गर्ने हो ? ‘ भनेर पनि सोधेका थिए । तर उनले एसाइलम गर्न अस्वीकार गरे ।

‘मलाई एउटा अपराधीलाई जस्तै व्यवहार गरियो’ –  उनले भने ।

उनी पाकिस्तान फर्केपछि अमेरिकी दूतावासमा पुगे । तर दूतावासले सीबीपीको निर्णयलाई आफूहरुले उल्टाउन नसक्ने जवाफ दियो । पछि उनले सुचनाको स्वतन्त्रतासम्बन्धि ऐनमा आधारित रहेर सीबीपीबाट भिसा खारेज हुनुका केही कागजातहरु प्राप्त गर्न सफल भए ।

प्राप्त कागजातमा उनको नाम अमेरिकी सरकारको वाचलिस्टमा रहेको व्यक्तिको नामसँग मिलेकाले उनलाई सोधपुछका लागि लगिएको उल्लेख छ । फोनमा नकारात्मक तस्वीर भेटिएको र अमेरिकामा गएर काम गर्ने आशय रहेकाले भिसा खारेज गरिएको कागजातमा उल्लेख छ ।

व्यक्तिगत गोप्यताका कारण समाचारमा उनको नाम उल्लेख गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com