अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, शुल्क १० डलर


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ । यो नियम सन् २०१९ मा नै लागु गर्न खोजिएपनि साधन श्रोतको अभावका कारण सम्भव भएको थिएन ।

बार्षिक ६५ हजारको कोटा रहने उक्त कामदार भिसाका लागि अबदेखि रोजगारदाताले प्रारम्भिक आवेदनको साटो निशुल्क विद्युतीय रुपमा दर्ता गराउनुपर्नेछ ।

दर्ताको मिति सुरु हुनुभन्दा कम्तीमा ३० दिन अगाडि यसबारे सुचित गरिने युएससीआईएसले जनाएको छ । विद्युतीय प्रणालीबाट गरिएका दर्तालाई युएससीआईएसले चिठ्ठाको माध्यमबाट छनौट गरेपछि हरेक आवेदनबारे प्रकृया अगाडि बढाउन सकिनेछ ।

सन् २०२० देखि कामदार भिसा एचवानी का लागि अनलाइन दर्ता शुल्क समेत प्रस्ताव गरिएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज एक प्रस्तावित नियम सार्वजनिक गर्दै दर्ता शुल्क १० डलर लिने योजना बनाएको हो ।

प्राप्त आवेदनहरुबाट छनौट गर्नका लागि युएससीआईएसको साधनश्रोत र जनशक्ति खर्च हुने तथा युएससीआईएस आवेदकबाट प्राप्त शुल्कबाटै चल्ने भएकाले अनलाइन दर्ताको समेत शुल्क प्रस्ताव गरिएको हो । छनौट भएका आवेदनहरुको थप प्रकृयाका लागि भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

गत जनवरी ३१ मा युएससीआईएसले अन्तिम नियम प्रकाशित गर्दै एचवान बी भिसाका प्रकृया र नियममा परिवर्तन गरेको थियो । विद्युतीय रुपमा अनलाइनमार्फत कामदार भिसाका लागि आवेदन दिने मिति युएससीआईएसले घोषणा गर्नेछ ।

अमेरिकी सरकारले यसैबर्षदेखि कामदारभिसा एचवानबीमा ब्यापक परिवर्तन गरेको छ । जस अनुशार अमेरिकी डिग्री होल्डरलाई अमेरिकी डिग्री होल्डरबाहेकको कोटामा पनि समावेश हुने अवशर दिइएको छ ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर अब ल्याउन लागिएको नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com