सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।

प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो।  जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो।  यस्तै नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो।  सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो।  त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।

गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको थियो।  प्रहरीले तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ।

स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्।  उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ। आजको नागरिक दैनिकमा समाचार छ ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com