४ महिनामा भिसा सकिदैछ ? ‘नयाँ भिसा लिनु राम्रो’ – अमेरिकी दूतावास, काठमाडौं


प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार

अमेरिकाको भिसा सकिन केही महिनामात्र बाँकी रहेको खण्डमा नयाँ भिसा लिन उपयुक्त हुने अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । पछिल्लो भिसा च्याटमा सोधिएको एक प्रश्नको जवाफ दिंदै अमेरिकी दूतावासका भिसा अधिकारीले त्यस्तो जवाफ दिएका हुन् ।

प्रश्नकर्ताले सोधेका थिए – ‘मेरो भिसा सकिन ४ महिनामात्र बाँकी रहँदा के म अमेरिकाको भ्रमण गरेर चारमहिनामा फर्कन सक्छु ?’

जवाफमा भनिएको छ – ‘तपाईले आफ्नो भिसा अद्यावधिक रहँदासम्म अमेरिकाको भ्रमण गर्न सक्नुहुन्छ । तर तपाईले भिसा सकिनुअगाडि नै अमेरिका छाड्नुपर्छ । कतिसमयका लागि तपाईलाई अमेरिका बस्न अनुमति दिने भन्नेकुरा अमेरिकाका अध्यामगन अधिकारीहरुमा भरपर्छ । सुनिश्चित हुनका लागि यात्रा गर्नुभन्दा अगाडि अमेरिकाका नयाँ भिसाका लागि आवेदन दिनु सुरक्षित हुनसक्छ ।’

 

अमेरिकाको विदेश मन्त्रालयका अनुशार भिसा समाप्त नहुँदासम्म अमेरिकी पोर्ट अफ इन्ट्रीसम्म यात्रा गर्न पाइन्छ । मल्टिपल इन्ट्रीसहितको भिसा समाप्त हुने दिनसम्म पनि प्रयोग गर्न सकिने विदेश मन्त्रालयको भनाई छ । भिसाको म्याद सकिएको छैन भने नयाँ भिसाका लागि आवेदन दिन आवश्यक नरहेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

पोर्ट अफ इन्ट्रीसम्म पुगेपछि अमेरिकामा कतिसमयसम्म बस्न पाउने भन्ने म्याद अमेरिका छिर्ने बेलामा सीबीपीका अधिकारीहरुले दिने गर्छन् । दूतावासबाट जारी भिसाले अमेरिका प्रवेश गर्ने कुराको ग्यारेन्टी नहुने र भिसामा उल्लेख गरिएको मितिले अमेरिकामा बस्न पाउने मितिलाई प्रतिनिधित्व नगर्ने विदेश मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com