न्यूयोर्कमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइयो


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

हिन्दु धर्मालम्बीहरुको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका अवसरमा न्यूर्योक क्षेत्रमा समेत बिशेष पुजा अर्चना गरी मनाइएको छ । रिजउड नेपाली समाजले दूर्गा मन्दिरमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।

जनै पूर्णिमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा बन्धन बाँधने परम्परालाई कायम राखि संस्कृतिको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

समाजका अध्यक्ष राजेश भट्टले आफ्नो संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई समेत यसको ज्ञान दिनुपर्ने बताए । उनले हरेक चाड पर्वमा रिजउड नेपाली समाजले यस्तै कार्यक्रम गर्दै आएको जानकारी दिएका छन् ।

पुरोहितहरु आत्माको शुद्धिकरण र शरिर रक्षाका लागि रक्षाबन्धन बाँधने प्रचलन रहेको बताउँछन् । न्यूयोर्क रिजउडस्थित दुर्गा मन्दिरका पुजारी उद्धव शास्त्री र हरिनारायण साप्कोटाले न्यूयोर्क, न्यूजर्सी क्षेत्रबाट उपस्थितहरुलाई हातमा रक्षा बन्धन अर्थात तागो बाँधिदिएका थिए । भने जनै फेर्ने कार्यक्रम समेत थियो ।

यस दिन नेपालको तराई क्षेत्रमा दिदीबिहिनीले दाजुभाइलाई दिर्घायुको कामना गर्दै राँखी बाँधने चलन छ । यस्तै नेवारी समुदायमा क्वाँटी खाएर तथा भ्यागुताको पुजा गरेर पर्व मनाउने चलन छ । यस दिनमा बिहान नुहाई धुवाईपछी जौं, तील, कुशले ऋषिहरुलाई तर्पण गरी बैदिक पद्धतीबाट मन्त्रिएको नयाँ जनै फर्ने गरिन्छ ।

बैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागो सेत भन्निछ । जनैमा ६ शिखा मध्ये तीन शिखालाई ब्रम्हा, बिष्णु र महेश्वरको प्रतिकका रुपमा समेत लिइन्छ । भने अर्को तीन शिखालाई कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ । आजकै दिन पितृलाई तर्पण दिने चलन पनि छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com