न्युज २४ टेलिभिजनका कार्यक्रम संचालक रवि लामिछाने पक्राउ


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

प्रहरीले न्युज २४ टेलिभिजनमा कार्यक्रम संचालक रवि लामिछानेलाई पक्राउ गरेको छ । प्रहरीले युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै उनीहरुलाई पक्राउ गरेको हो । संचारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरुको नाम मुछिएपछि पक्राउ गरिएको हो ।

लामिछाने न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता हुन् । उनले केही समय अगाडि अमेरिकी नागरिकता त्यागेर नेपालमा टेलिभजिनमा कार्यक्रम संचालन गर्दै आएका थिए ।

यसअगाडि रविले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू आरोप खेप्ने जिउदै रहेको बताएका थिए । उनले भनेका थिए – ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’

१ भदौ ०७५ देखि लागू भएको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले  आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com