सामाजिक कार्य गर्न उमेरले छेक्दैन, ७६ वर्षीय हाजी अब्दुल रहिम मियाँ सामाजिक क्षेत्रमा सकृय

– सानेबहादुर नेपाली

समाजमा बसेर सामाजिक कार्य गर्न कुनै उमेरले छेक्दैन भन्ने गतिलो सन्देश तनहुँका एक ७६ वर्षीय हाजी अब्दुलरहिम मियाँले दिनुभएको छ ।

जिल्लाको भानु नगरपालिका–१३ सम्जुर निवासी मियाँले गरीब असहायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नेदेखि विकास निर्माणका कार्य गर्दै आउनुभएको छ । सामाजिक क्षेत्रमा मियाँले गरेको क्रियाकलाप देखेर त्यस क्षेत्रका युवापुस्ताका व्यक्तिहरुसमेत दङ्ग पर्ने गरेका छन् । मियाँले नगरपालिकाबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको रकम सामाजिक क्रियाकलापमा खर्च गर्दै आउनुभएको छ ।

“आफूलाई सामाजिक कार्यमा खर्च गर्न पाउँदा आनन्द लाग्छ”, उहाँले भन्नुभयो, “विगत छ वर्षअघि देखि आफूले पाउने भत्ता रकम गाउँका पाटीपौवा, चौतारो तथा धारा निर्माण लगायतका क्षेत्रामा खर्चिंदै आएको छु ।”

गाउँको कुवामा पानी लिन जाने बाटो अप्ठ्यारो भएकाले करीब ४० मिटर बाटो ढुङ्गा बिच्छ्याएर सिँढी निर्माण गरिदिएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । उहाँले भन्नुभयो, “सिँढी निर्माण गर्दा झण्डै रु ५० हजार खर्च गरेको छु ।”

आफू जन्मिएको गाउँ छाडेर सन्तान शहर झर्न थाले पनि आपूmलाई गाउँको मायाले गर्दा गाउँ छोड्न नसकेको उहाँले बताउनुभयो । आफू जन्मिएको ठाउँलाई माया गर्नुपर्छ । उहाँले भन्नुभयो, “समाजका लागि कसरी काम गर्नुपर्छ भन्ने प्रेरणा दिन पनि गाउँमै बसेर सकेको काम गरिरहेको छु ।”

सोही वडास्थित जनसहयोगी माविका पूर्वअध्यक्ष तथा हाल सल्लाहकार रहनुभएको मियाँले उक्त विद्यालयलाई प्राथमिक तहबाट स्तरोन्नति गर्दै निम्न माध्यामिक देखि माध्यामिक तहसम्म बनाउन ठूलो योगदान गरेको राष्ट्रिय मुस्लिम आयोगको पूर्वसदस्य तथा भानु मोटर मार्ग उपभोक्ता समितिका अध्यक्ष हाजी रफिक मियाँले जानकारी दिनुभयो ।

गाउँका मस्जिद, मन्दिर, मदरसा, बाटो लगायतमा जनश्रमदान गर्न खटिने, आवश्यक परे आर्थिक सहयोग गर्न पनि पछि नपर्ने जस्ता स्वभावले समाजका अन्य मानिसलाई पनि केही गराँै भन्ने प्रेरणा दिने काम गर्नुभएको उहाँले बताउनुभयो ।

समाजसेवी मियाँले गाउँमा चार वटा चौतारो र तीनवटा ठाँटी निर्माण गरिसक्नुभएको छ । गाउँमा रहेको इदगाह मस्जिद नजीक वरपीपलको चौतारो र ठाँटी, ज्यमिर गैरो भन्ने ठाउँमा चौतारो, राङ्ख्याचौरमा चौतारो र ठाँटी, कुवापानी पधेराँमा ठाँटी, कलेस्ती हाँडीखोलामा चौतारो निमार्ण गर्नुभएको स्थानीय जनसहयोगी माविका पूर्वशिक्षक बाबुराम खनालले बताउनुभयो ।

सामाजिक विकास निर्माणका क्रममा उहाँले आफ्नो निजी रकमसमेत सामाजिक क्रियाकलापमा खर्चिनु भएको छ । उहाँले भन्नुभयो, “छोराछोरीको कमाई खाएर आनन्दसँग बस्ने उमेरमा सके आफँैले नसके कामदार खोजेर भए पनि निर्माण कार्य गर्ने स्वभाव उहाँमा रहेको छ ।”

मियाँले गाउँका विभिन्न विद्यालयमा छात्रवृत्ति कोष स्थापना तथा छात्रवृत्ति वितरण गर्न रु एक लाख खर्च गरिसक्नुभएको बताइएको छ । आर्थिक अभावका कारण कोही कसैले शिक्षाबाट वञ्चित हुन नपरोस् भनी गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्नुभएको स्थानीय पूर्वशिक्षक खनालले बताउनुभयो ।

गाउँ समाजमा हुने जुनसुकै कार्यमा सक्रियता देखाई सामाजिक कार्यमा खटिएको देख्दा आफूसमेत चकित परेको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताउनुभयो । सामाजिक कार्यका लागि आफूले पाउने सामाजिक सुरक्षा भत्ता रकम मात्रै नभई निजी सम्पत्तिसमेत उहाँले खर्च गर्दै आउनुभएको वडाध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

केही दिनअघि मात्रै मियाँले जिल्लाको म्याग्दे गाउँपालिका–७ रानीस्वाँरा निवासी कृष्णबहादुर विकको छोरी आशिकालाई कापी र कलम लगायतका शैक्षिक सामग्रीहरु प्रदान गर्नुभएको थियो ।

थुर्पस्थित मीन माविमा कक्षा ९ अध्ययनरत आशिकाका बाबु अपाङ्ग र आमा विवाह गरी अन्यत्रै गएपछि आर्थिक अवस्था नाजुक रहेकाले थोरै भए पनि शिक्षा क्षेत्रमा सहयोग गरेको मियाँले बताउनुभयो । कुनै जाति, धर्म, लिङ्ग नभनीकन सबैलाई समान दृष्टिले सामाजिक काम गर्ने मियाँलाई गाउँ सेवा कोष लगायतका विभिन्न संघसंस्थाले सम्मानसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com