अँध्यारो कुनामा बसेर झटारो हान्नुको कुनै अर्थ छैन : अध्यक्ष दाहाल


प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।

शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँँले भन्नुभयो, “यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिनुभयो ।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com