प्रारम्भिक कमिटी हुँदै पर्यटनमन्त्रीसम्म भट्टराई


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।

उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उहाँलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै हुनुहुन्थ्यो ।

यही क्रममा उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो ।

यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्नुभएको छ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com