श्रेष्ठकाे आत्महत्या कि हत्या ? कांग्रेसले उठायाे गम्भीर प्रश्न


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

सपिङ मलबाट हाम्फालेर आत्महत्या गरेकाे भनिएका बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्व कर्मचारी युक्त प्रसाद श्रेष्ठकाे निधप्रति नेपाली कांग्रेस पर्वतले गम्भीर प्रश्न उठाएकाे छ ।

एक शाेक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले आइतबार आत्महत्या गरेकाे भनिएका जिल्ला सचिव श्रेष्ठ इमानदार, सरल र मिलनसार स्वभावका नेता रहेकाे जनाएकाे छ । साथै उनकाे आत्महत्या भन्ने आधार नदेखिएकाे भन्दै कांग्रेसले उनकाे हत्या भएकाे हुसक्ने शंका व्यक्त गरेकाे छ ।

‘घटना ८ औँ तलाबाट खसेकाे भनिए तापनि घटनास्थलमा एक थाेपा रगत नदेखिनु, अनुहार लगायत शरीरकाे बाहिरी भागमा कुनै चाेटपटक नदेखिनु, सिसी क्यामेराकाे फुटेज उपलब्ध नहुनु आदि कुराले घटना रहस्यमय देखिएकाे हुँदा,’ वक्तव्यमा भनिएकाे छ, ‘मनगढन्ते अनुमानकाे भरमा निष्कर्षमा पुग्नुभन्दा गम्भीर ढंगले अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षमा कांग्रेस जिल्ला कार्यसमिति आग्रह गर्दछ ।’

पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको बालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्नता रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले पूृर्व कर्मचारी समेत रहेका श्रेष्ठलाई छानिबनकाे दायरामा ल्याएकाे थियाे । साेही कारण उनले आत्महत्या गरेकाे प्रारम्भिक अनुमान गरिएकाे थियाे ।

श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा खरिदारकाे रूपमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउनका लागि फाइल खडा गर्ने कार्यमा संलग्न रहेकाे भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com