Follow @khasokhasmag

एक बिरामी आमा, जसले सडकपेटीमा मोजा र फलफुल बेचेरै छोरीलाई अमेरिका पढ्न पठाइन्


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ ।

मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ यही अस्तव्यस्ततामा आफ्नो र सन्तानको भविष्य खोज्न दोलखाकी करुणा भण्डारी धूलोको पर्वाह नगरी सडकपेटीमा सानो व्यापार व्यवसाय गरिरहेकी छन् ।

‘त्यति धूलो पनि छैन, त्यति व्यापार पनि छैन,’ उनको सहज उत्तर थियो ।दोलखादेखि काठमाडौंसम्मको यात्रा भने करुणाले त्यसै गरेकी होइनन् ।

उनी काठमाडौं आउनुको पनि लामै कहानी छ । बेलाबेलामा टाउको दुखिरहने रोगले ग्रसित भएपछि करुणा काठमाडौं आएकी थिइन् । महिनैपिच्छे दोलखाबाट काठमाडौं आउनुपर्ने भएपछि उनी यतै बस्ने निर्णय गर्दै थिइन् । उता आफ्ना स–साना नानीहरूलाई हुर्काउने जिम्मा पनि उनको काँधमा थियो ।

‘आफूले त नपढेर दुःख पाइयो, भोलि छोरीहरूले जिन्दगीमा मैलेजस्तो दुःख नपाऊन्,’ उनी आफ्नो शुरुका दिन स्मरण गर्दै भन्छिन्, ‘आफू बिरामी भएपनि छोरीहरूको भविष्य बनोस् भनेर व्यापार थालेकी हुँ ।’ टाउको दुखिरहने रोगले काठमाडौं धाइरहनुपर्ने भएपछि करुणाले काठमाडौंमै बस्ने निर्णय गरिन् ।

अरूले गरेको देखेर नै उनले यतै केही गर्ने योजना बनाएकी थिइन् । ‘घरबाट पैसा आउने स्थिति थिएन । काम नथाली भएको थिएन । आफूले जानेको केही थिएन,’ करुणा सुनाउँछिन् २०६२/६३ सालको जनआन्दोलन भर्खरै सकिएको थियो । देश पूरै परिवर्तनको तयारीमा थियो ।

त्यही समयमा उनले आफूसँग भएको ४ हजार ५ सय रुपैयाँको लगानीमा न्युरोडबाट खुद्रा कपडा किनेर गोंगबु बसपार्क वरिपरिको सडकपेटीमा बेच्न थालिन् ।

व्यापार थाल्नुको उद्देश्य उनलाई ठूलै व्यापारी बन्छु भनेर पनि थिएन । ‘घरबाट ल्याएको पैसा सकिहाल्यो । अरूले व्यापार गरेको देखेर नै मैले पनि व्यापार गर्न थालें ।’ उनले मुस्कुराउँदै सुनाइन्, ‘पेट पाल्न त परिहाल्यो नि । ममात्र पनि कहाँ थिएँ र ? दुई छोरी पनि ल्याएर आएकी थिएँ’, उनी हाँसिन् ।

पढाइको महत्त्व बुझेर नै उनले आफ्ना दुई छोरीलाई नर्सरी र कक्षा ४ मा भर्ना गरिदिइन् । त्यतिखेर उनीसँग पैसा भन्ने हुँदैनथ्यो । पढाइको महत्त्व बुझेर नै उनले आफ्ना दुई छोरीलाई नर्सरी र कक्षा ४ मा भर्ना गरिदिइन् । त्यतिखेर उनीसँग पैसा भन्ने हुँदैनथ्यो । एक–एक महिनामा आउनु, हस्पिटलमा लामो समयसम्म बस्नु, स–साना केटाकेटीलाई छोडेर उपचारका लागि दौडिरहनु त्यतिबेला उनका लागि एकनासको कार्यतालिकाजस्तै भएको थियो ।

त्यसैले पनि उनले काठमाडौंमै दुःख गरेर छोरी पढाउने र आफ्नो उपचार खर्चको जोहो गर्ने सोच बनाएको करुणा सुनाउँछिन् । ‘केटाकेटी काम गर्नसक्ने उमेरका थिएनन् । दिनभरि सडकपेटीमा बसेर मोजा बेच्थें, छोरीहरूलाई स्कूल पु-याउथें,’ उनले संघर्षका कथा सुनाउँछिन्, ‘काठमाडौं आउने बेलामा त मसँग ७ हजार पनि थिएन होला । जे पर्छ, त्यही टर्छ भनेरै काठमाडौं आएँ ।’ टाउकोमा पानी जमेको थियो भनेर डाक्टरले भनेको उनी बताउँछिन् । त्यही कारण बेलाबेलामा तनावले उनी ढल्ने गरेकी थिइन् ।

अझै पनि औषधि सेवन गरिरहेको बताउने करुणा भन्छिन्, ‘अझै टाउको दुखिरहन्छ । फरक यत्ति हो, अहिले छोरीहरू हुर्किसके ।’ करुणा आफ्ना छोरीहरू सानैदेखि बुझ्ने भएको बताउँछिन्, ‘पाँच रुपैयाँको एउटा थिन आरारोट बिस्कुटले पाँचदिन सम्म पु–याउँथे छोरीहरूले । पानी खाएर बस्थे । मेरा छोरीहरू त खोले खाएरै हुर्केका हुन् ।’ छेउमा आमासँगै बसेकी कान्छी छोरी मुसुक्क हाँसिन् ।

उनलाई आमाको खुबै माया लाग्छ । समाजमा छोरीलाई पढाउनुहुँदैन भन्ने रूढिवादी मान्यता अझै पनि मेटिएको छैन । करुणाका श्रीमान् केदार भण्डारी शुरुका केही महिना काठमाडौं आइपुगेका थिएनन् किनकि उनले घरतिरैको व्यवहार सम्हाल्नुपर्ने थियो । सडकपेटीमा मोजा बेचेर छोरीहरू हुर्काउनु करुणाका लागि त्यति सजिलो थिएन । त्यहीमाथि महिनैपिच्छे अस्पताल गइरहनुपर्थ्यो ।

‘बिहान तरकारी पकाएर बेलुकालाई पनि राख्नुपर्थ्यो । अहिले त धेरै सजिलो छ नि । छोरीहरूले दिनदिनै मासु खान खोज्छन् र पनि पुग्छ’, उनले आफ्नो आभा अलिकति उज्यालो पारिन् । जेठी छोरी अस्मिता ‘प्लस टू’ पछि छात्रवृत्तिमा बीएस्सी नर्सिङ पढ्न अमेरिका गएकी छन् । कान्छी छोरी एसईईको तयारीमा छिन् । बुबाले पनि अहिले व्यापारमा केही साथ दिएका छन् । छोरीहरूले भोलि आफ्ना सपना पूरा गर्नेछन् भन्नेमा बा–आमा मख्ख छन् छोरीहरूको व्यवहार पनि राम्रो छ ।

यसको कारण आफैं नै हो कि भन्ने लाग्छ करुणालाई । ‘पहिलेबाट नै छोरीहरू बुझ्ने थिए । मेरो कुरा कहिल्यै काटेनन्,’ करुणा सुनाउँछिन् । शुरुका केही दिन निकै गाह्रो भएपनि श्रीमान् काठमाडौं आएपछि परिवार पाल्न अलिक सहज भयो करुणालाई । केदारको साथपछि उनीहरूले लगभग ८० हजार उधारोमा सानो पसल किन्ने आँट गरे ।

अहिले भने केही राहत मिलेको छ । पसल पनि छ । तर कमाइको हिसाबले फूटपाथमा बस्दा नै बढी कमाइ हुन्थ्यो भन्छिन् करुणा । पसल किनेको केही वर्षमा नै प्रहरीले फूटपाथमा भएका सबै पसल भत्काइदियो । उनीहरूले पनि सामान लगेर कोठामा थन्क्याए । पसलमा भएका केही सामान लिएर भाग्दै बेच्दै गएर दैनिकी चलाइन् करुणाले ।

एक वर्ष यसरी काम गर्दा पैसा कमाइ भएन । फेरि ऋण खोजेर यही पसल किन्यौं’, उनले हामी बसेर कुरा गरिरहेको पसल देखाउँदै सुनाइन् । त्यसोभए किन फेरि ऋण नै खोज्नुप–यो त? करुणाले भनिन्, ‘उहाँ (श्रीमान्) ले आफैं कमाउने, आफैं उडाउने गर्नुभयो । पैसा जोगाउनुभएन ।’ म बिरामी हुँदा, काम पर्दा छोरीहरू सघाउन आउँथे, पसलमा बसेर पेन्टी बेच्थे ।

जेठी छोरी त अमेरिका जानुभन्दा एकहप्ता अघिसम्म फुटपाथमा बसेर कपडा बेच्थी,’ उनले हाँस्दै सुनाइन् । बिमार त बिस्तारै निको हुँदैछ भन्ने करुणालाई लागेको छ । तर उनलाई सधै काठमाडौंमै बस्ने हो भन्ने लाग्दैन । कान्छी छोरी आत्मनिर्भर बनेपछि उनी आफ्नो बाँकी जीवन दोलखामै गएर बिताउने योजनामा छिन् ।

बिरामी आमाको आँट देखेर छोरीहरू आमासँग कृतज्ञ छन् । बाबाको भूमिका गौण पारिदियो आमाको कडा मेहनतले ।नजिकै बसेकी सुस्मिताले आमाको मुखमा पुलुक्क हेर्दै भनिन्, ‘आमाको हालत देखेर बिदाको बेलामा सहयोग गर्न मन लाग्थ्यो । पहिले त बेलाबेलामा टाउको दुखेर ढल्नुहुन्थ्यो ।

भोलि छोरी पराइको घरमा जालान् र पाल्लान् भन्ने लाग्दैन करुणालाई । अब धेरै दुःख नगर्न अमेरिका पढ्दै गरेकी छोरी अस्मिताले आग्रह गरिरहन्छिन् । बरू श्रीमानको स्वभाव मनमौजी भएपनि छोरीहरूले गरेको सहयोगले गर्दा करुणा मख्ख हुँदै भन्छिन्, ‘छोरा भनेपछि छोरी भएपनि मेरा सहारा यिनै हुन् ।

भोलि मलाई पक्कै वृद्धाश्रम गएर बस्न नपर्ला’, करुणा हाँस्दै भन्छिन् । आमाको नजिकै बसेकी कान्छी छोरी सुस्मिता मुसुक्क हाँसेकी थिइन् । शायद उनले वृद्धाश्रमको कुरालाई नबुझेको हुनुपर्छ ।

खसोखास अर्काइभबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com