अपडेट : अहिलेसम्म ६७ को मृत्यु, ३२ जना बेपत्ता !


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

 देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार/चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन/तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई/दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् ।

बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, महोत्तरी र मकवानपुरमा दुई/दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक÷एकजना बेपत्ता भएका छन् ।

विपद्मा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com