दलालको प्रलोभनमा परी कुवेत पुगेकी अनु तामाङ बिचल्लीमा, उद्धारको अपिल


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

– सुशील दर्नाल

नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् । गैरकानूनी रुपमा कुवेत पुगेकी तामाङले अहिले सामाजिक सञ्जालमार्फत आफूलाई त्यहाँबाट फर्काउन नेपाल सरकारसँग हारगुहार गरिरहेकी छिन् ।

घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको पीडित तामाङ बताउँछिन् । अहिले तामाङको परिवारले उद्धारका लागि परराष्ट्र मन्त्रालय र प्रहरी प्रशासनमा निवेदन दिएको छ । वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयअन्तर्गतको काउन्सिलर विभागमा उद्धारका लागि पहल गरिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मनत्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

अनुकी छोरी सलिना तामाङले भनिन्, “मेरो ममीलाई ललाईफकाई गरी रमेश खत्री नाम गरेको एजेण्टले पठाएको रहेछ ।” आफ्नी ममीसँग भएका कुरा सुनाउँदै उनले भनिन्, “साहुले खान दिँदैन, पिट्छ भन्नुहुन्छ ।” उनले न्यायका लागि सम्बन्धित निकायमा पत्र दिएको बताइन् ।

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुवेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ती गरिएको छ ।

“गैरकानुनी रुपमा विदेश जानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दोस्रो र तेस्रो पटकसम्म जाने र समस्यामा परेपछि हारगुहार गर्ने धेरै हुनुहुन्छ, त्यसैले मन्त्रालयले अब वास्तविक पीडितको पहिचान गरेर मात्र उद्धार गर्ने नीति बनाउँदैछ, त्यसका लागि मावन बेचबिखनसम्बन्धी नियमावली संशोधन गर्दैछ”, सहसचिव शर्माले भन्नुभयो ।

मन्त्रालयले मानव बेचबिखन र गैरकानूनी रुपमा विदेश जाने प्रचलनमा न्यूनीकरणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायतका प्रभावित जिल्लाको समेत अध्ययन गरिरहेको छ । त्यसका साथै मानव बेचबिखनसम्बन्धी विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com