इन्काउन्टर !


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

– शारदा शर्मा

अचानक चर्को आवाज आयो । मकैबारीबाट चराहरू पनि भुरुरु उडेर माथिमाथि पुगे । आवाज सानो थिएन । बारीमा काम गर्न आएका सबैले एक पटक डिलमा पुगेर यताउता हेरे । तर कतै केही देखिएन ।

बर्खाको समय, सिमसिम पानी परिरहेको थियो । मानिसहरू आआफ्नै धुनमा थिए । छोड्नेले गाउँछोडे । बस्नेहरूकालागि खेतबारी महत्वपूर्ण थियो । काम गरेर खानुपर्ने वर्गकालागि काम प्यारो हुने नै भयो । चाहे त्यो कामको प्रकृति जस्तो सुकै किन नहोस् ।

बारीमा काम गर्दागर्दै एक्कासि आएको चर्को आवाजका विषयमा अनेकले अनेक लख काट्दै थिए । जनयुद्ध सकिएर मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको परिवेशमा समेत बमको यति धेरै चर्को आवाजले मानिसहरूको मथिङ्गल खलबल्याइरहेको थियो । मानिसहरूले अनेक देखेर–भोगेर आएका थिए ।
चर्को आवाजसँगै सबै अनेक बहसमा थिए ।

मकैभित्रको झार गोड्दै जाँदा खेतालाहरू एक आपसमा विगतदेखि वर्तमानसम्मका विषयलाई कोट्ट्याउँदै समय बिताइरहेका थिए । धेरैले अनेक कुराहरू सम्झे । उनले पनि विगतलाई त्यसरी नै सम्झिन थालिन् । सायद उनको पीडालाई नबुझेका मानिसहरू यो मेलामा कमै थिए । तर ननिकालौँ भन्दा भन्दै पनि कुरा निक्लि हाल्यो । त्यही आवाज थियो कुरा कोट्ट्याउँदै लैजाने पनि ।

जनताकालागि भनेर देशमा सशस्त्र सङ्घर्ष र जनयुद्ध गरेकाहरू अनि भोकानाङ्गा जनताकालागि लडाइँ लडेकाहरूलाई सजिलै बिर्सन सक्ने अवस्था पनि त थिएन । अनेक डोबहरू यस्ता थिए जति कोट्ट्याउँदै गयो त्यति रक्ताम्य बन्दै जान्थे । न मलमले रगत बग्न रोकिन्थ्यो, न त पट्टीलगाएर रोकथाम गर्न सकिन्थ्यो । बल्लबल्ल बाक्लो पट्टी लगाएर बाँधिएका घाउहरूलाई यस्ता आवाजले निकै मर्माहत बनाइदिन्थे ।

सायद आज उनको बाक्लो पट्टीलाई त्यो आवाजले बढी नै च्याति दियो । मनभित्रको सानो घाउठूलो बन्दै गयो । कल्पनाको महासागरमा पौडी खेल्दै जाँदा तैरिने उपाय नै नभेटिएपछि उनका आँखाका डिलहरू रसाउन थाले । बर्खाको समय, आकासे पानी बढ्दै गएपछि चौरमा फुटेका मूलहरू जस्तै उनका आँखाहरू पनि बग्न थाले । अनेक डिल लगाएर रोक्ने प्रयास गरे पनि ती मूलहरू फुटिरहेका थिए ।

सँगै काम गरेका साथीहरूलाई पनि अप्ठ्यारो भयो । भुलाउन खोज्ने कुनै उपाय नै थिएन । यति दु्रतगतिमा खोलिँदै गए विगतका दस्ताबेजहरू । सायद जीवनले खेलेको खेल थिएन यो । यो एउटा जानेर र बुझेर गरिएको षड्यन्त्र नै थियो त्यतिबेला ।

भर्खरै दस कक्षा पढ्न झोला बोकेर स्कुल हिँडेको छोराले त्यो दिन कोदोको ढिंडो चपाइचपाई खाँदा उनले उसको भोकभन्दा पनि आफूले पकाएको ढिँडोको स्वाद भनेर मक्ख परेकी थिइन । चारचार छोरीपछि छोरा जन्मिँदा उनका ओठमा देखिएको खुसीको कुनै मूल््य नै थिएन ।

समाजले छोरा र छोरीप्रति गर्ने चरम विभेद र त्यसमा पनि एउटी आमाप्रति गर्ने घृणाको साक्षी मात्र हैनन उनी । उनी त त्यसको भुक्तभोगी थिइन । छोरा पाउन सक्ने महान आमामा नाम दर्ता गर्न सफल भएकी सुन्दर र सुखी आमा थिइन । समाजका यी र यस्तै कारणहरूले पनि होला औँलामा दिन गनेर हुर्किएको छोरो आज दस कक्षामा पढ्ने भएको थियो ।

अस्ति मात्र नतिजा निस्केर स्कुलमा तेस्रो स्थान हासिल गरेको छोराकालागि उनी आफँै दमैकोमा गएर स्कुलको पोसाक सिलाइ दिएकी थिइन । देश सशस्त्र सङ्घर्ष अर्थात जनयुद्धको चरम उत्कर्षमा थियो । कमिजको कल्दर अलि नमिलेपछि मिलाइ दिदै उनले छोरालाई भनिन आज त बाबुलाई ढिँडो बढी नै मिठो भयो है ?

ऊ पनि मुसुक्क मुस्कुरायो । सेतो मोजामा कालो जुत्ताको तुना लगाउँदै गर्दा आमाले एक टकले उसको अनुहार हेरिरहिन । छोराको मुहारमा आफ्नो सिङ्गो सपना सजाएकी उनले बेलुकी उसकालागि मिठो चामलको रोटी बनाइदिने भनेर बिदा गरिन ।

न उनले राजनीति जानेकी थिइन नत उनको परिवार नै सक्रिय राजनीतिमा थियो । तर उनको छोरालाई स्कुल नपुग्दै बाटैमा गोली ठोकिएको थियो । घरबाट अलि पर बाटोमा धुवाँको मुस्लो निस्केको थियो । गाउँलेहरू डराएर भित्र पसे ।

बर्दीवाला रक्षकहरू स्कुलको बाटो हुँदै हिँडेका रहेछन । स्कुल जान हिडेकी राम्रो कद भएको केटालाई सायद उनीहरूले आतङ्ककारी सम्झे । उसको झोला भित्रका किताबलाई उनीहरूले बम र बारुद सम्झे । अनि उसले बोकेको कलमलाई राइफल र उसले बाँधेको टाईलाई फाँसीको फन्दा सम्झे । यसैले ऊमाथि अन्धाधुन्ध गोली प्रहार गरे र इन्काउन्टर र भिडन्तको भ्रम फिँजाए ।

केही भन्न नपाईकन ऊ युद्धको नायक बन्यो । घिरौँलाको झालमा झुन्ड्याइएको रेडियोले समाचार फुक्यो– इन्काउन्टर गरियो । पीडाले थिलथिलो बनेकी उनलाई इन्काउन्टर भन्ने शब्दसमेत थाहा थिएन । पछि मात्र थाहा पाइन । यसरी उनका छोराको इन्काउन्टर भएको थियो ।

आज फेरि पनि भिडन्त र इन्काउन्टर भन्दै मान्छे मारियो । फरक यति मात्र हो हिजो उनको छोराले राजनीति बुझेको थिएन । आज उसले राजनीति बुझेको छ ।

फरक यतिमात्र हो त्यतिबेला देशमा जनयुद्ध थियो, आज देशमा शान्ति कायम छ । अनि फरक यतिमात्र हो–हिजो यथास्थितिवादीको सरकार थियो । आज कम्युनिस्टको सरकार छ । आखिर इन्काउन्टर त इन्काउन्टर नै हो । पीडा एउटै छ, दुःख एउटै छ । अनि फेक इन्काउन्टरको शैली एउटै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com