पोखरा विश्व विद्यालयको आफ्नै अस्पताल लेखनाथमा बन्दै


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल निर्माण गर्न बिहीबार शिलान्यास गरेको छ । पोखरा महानगरपालिकाको लेखनाथमा अस्पताल १ सय ५० शैय्याको अस्पताल बनाउन लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले बिहीबार अस्पतालको शिलान्यास गरे । शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन अन्य अस्पतालमा जान वाध्य भएपछि आफ्नै अस्पताल बनाउन लागेको बताए ।

अस्पताल नहुँदा पारामेडिकलको प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको बताए । विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टनर्सिप गर्न विश्वविद्यालयले आफ्नै अस्पताल बनाउन लागेको बताए । त्यसको अनुमति पनि पाइसकेको उनको भनाई छ ।

स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्व विद्यालयका सभापति सुनिल तिमिल्सिनाले विद्यार्थीका माग पुरा हुने तर्फ गएको बताए । विश्वविद्यालयको अस्पताल नहुदाँ विद्यार्थीहरुले प्रयोगात्मक कक्षाका लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालयन आँखा अस्पताल लगायतका अस्पतालमा प्रयोगात्मक कक्षाका लागि जाने गरेका थिए । अस्पताल दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अस्पतालको लागि आवश्यक भौतिक पुर्वाधार बनाउन २५ करोड रुपैयाँ खर्च हुने अनुमान पोखरा विश्वविद्यालयले गरेको छ । ३५ रोपनी क्षेत्रफलमा अस्पताल भवन बनाईने छ । ‘२६ रोपनीमा अस्पतालको मुख्य भवन ७ तले हुने छ । पोखरा विश्वविद्यालयबाट हेल्थ साईन्स अन्तर्गत विभिन्न विषयमा गरी वार्षिक ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com