१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे तस्वीर (फोटो फिचर)


प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार

विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको छ । दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा यसपटक भने एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । करिब १०० वर्षसम्म कसैले पनि सो चितुवाको गुणस्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बुरार्ड लुकासले आफ्नो फ्रेममा कैद गर्न सफल भएका हुन् ।

सो दुर्लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । केन्याको Laikipia Wilderness Camp क्षेत्रमा साे तस्वीर खिचिएकाे हाे । त्यस अासपास कालो चितुवा देखा पर्ने गरेको खबर त्यहाँका स्थानीयहरुबाट थाहा पाएपछि नै फोटो पत्रकार बुरार्ड त्यहाँ पुगेका थिए । उनले चितुवा आउने सम्भावित बाटोहरुको ठाउँ-ठाउँमा क्यामरा राखेका थिए । यसको केही दिनमा नै रातिको समयमा सो कालो चितुवालाई बुरार्डको क्यामराले कैद गर्न सफल भयो ।

यो दुर्लभ तस्वीर खिच्न सफल भएपछि उनले भनेका छन् ‘कुनै ठूलो अपेक्षाबिना नै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ । यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ । पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।’ उनले आफ्नो तस्वीरलाई जीवनकै उपलब्धिमूलक भनेका छन् । बाल्यकालदेखि नै कालो चितुवाको तस्वीर लिने आफ्नो धोको रहेको बताउँदै उनले सो धोको बल्ल पूरा गरिसकेकोमा औधी खुसी लागेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलाबेला चर्चामा अाइरहने अफ्रिकन कालाे चितुवाकाे अस्तित्व प्रमाणित गर्न १०० वर्षयता गुणस्तरीय तस्बिर खिच्न सकिएकाे थिएन । यसअघि १९०९ मा अडिस अबाबा, इथियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो । साे तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बताइन्छ ।

Laikipia Wilderness Camp काे इन्स्टाग्राममा साे कालाे चितुवाका विभिन्न तस्वीर राखिएकाे छ । जुन् टप भ्यु मा रहेका छन् । फाेटाेग्राफर बुरार्डकाे क्यामेरामा कालाे चितुवाका साथै अन्य चितुवाहरुकाे तस्वीर समेत कैद भएकाे छ । बुरार्डले यसका थप तस्वीर खिच्न अन्य प्रयासहरु गरिरहेकाे जनाएका छन् । एजेन्सी 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com