सन् २०२० को चुनावसम्म ट्रम्प जेलमा हुने वारेनको दावी


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारीको घोषणा गरेकी मासाचुसेट्सकी सिनेटर एलिजावेथ वारेनले सन् २०२० को चुनावसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प जेलमा हुनसक्ने बताएकी छिन् । शनिबारदेखि औपचारिक चुनावी अभियान सुरु गरेकी उनले आइतबार आयोवामा बोल्दै चुनावको बेलासम्म ट्रम्प स्वतन्त्ररुपमा बाहिर नहुनसक्ने बताएकी हुन् ।

मुलरको मात्र नभई अन्य कैयन अनुसन्धानहरु ट्रम्पबिरुद्ध भइरहेकोप्रति संकेत गर्दै उनले त्यतीबेलासम्म ट्रम्पबिरुद्ध महाअभियोग लाग्नसक्ने वारेनको विश्वास छ । शनिबार उम्मेदवारीको घोषणा गरेकी उनको उम्मेदवारीलाई केही हाई प्रोफाइल राजनीतिज्ञहरुले समेत समर्थन गरेका छन् ।

सांसद जोसेफ केनेडी तृतीयले वारेनको उम्मेदवारीलाई समर्थन गरेका छन् । उनी अमेरिकी सिनेटर तथा पूर्व महान्यायाधिवक्ता रोबर्ट केनेडीका नाती हुन् । रोबर्ट केनेडी राष्ट्रपति जोन अफ केनेडीका भाई हुन् ।

जोसेफ केनेडीको परिवार अमेरिकामा हाइ प्रोफाइल राजनीतिक परिवारका रुपमा परिचित रहेको छ । उनका जिजु हजुरबा जोसेफ पेट्रीक केनेडी पनि बेलायतका लागि अमेरिकी राजदूत थिए भने जिजु हजुरआमा रोज केनेडी बोस्टनका मेयर तथा अमेरिकी संसदमा प्रतिनिधिसभा सदस्य जोन फिजेराल्डकी छोरी थिइन् ।

६९ बर्षीया एलिजाबेथ वारेन मासाचुसेट्सबाट अमेरिकी सिनेटरकी बरिष्ठ डेमोक्रेटिक सिनेटर हुन् । उनी सिनेटमा डेमोक्रेटिक ककसकी उपाध्यक्ष समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com