अमेरिकी राष्ट्रपतिको आगामी चुनावमा कमलाको अवस्था बलियो


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

अमेरिकी राष्ट्रपतिका लागि सन् २०२० मा हुने चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट प्राइमरी चुनावका सम्भावित उम्मेदवारहरुमा कमला ह्यारिसको अवस्था बलियो रहेको सर्वेक्षणले देखाएको छ । १० जना सम्भावित उम्मेदवारहरुमा कमलाको शक्ति सुचीका हिसाबले पहिलो नम्बरमा रहेकी छिन् ।

सीएनएनले तयार पारेको मासिक शक्ति सुचीमा भारतीय आमा र अफ्रिकन पिताबाट जन्मिएकी कमला ह्यारिस पहिलो नम्बरमा रहेकी हुन् । हाल उनले अमेरिकी सिनेटमा क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्छिन् ।

सन् २०११ देखि २०१७ सम्म क्यालिफोर्निया महान्यायाधिवक्ताका रुपमा काम गरेकी उनी आगामी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवारका रुपमा चर्चामा छिन् । तर उनले अमेरिकी राष्ट्रपतिको चुनावमा भिड्नका लागि पहिले डेमोक्रेटिक उम्मेदवारबीचको प्राइमरी चुनाव जित्नुपर्नेछ ।

आमा श्यामला गोपालन र बुबा डोनाल्ड ह्यारिसबाट सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी कमला ह्यारिसको नाम संस्कृत शब्दबाट आएको हो । उनको थर भने पिताका थरबाट लिइएको हो । उनका मावली तर्फका हजुरबा पी भी गोपालन भारतीय कुटनीतिज्ञ थिए ।

कमला भारतको तमिलनडुमा रहेका आफन्तहरु भेट्न बारम्बार जाने भएकाले उनको भारतमा रहेका आफन्तहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ । कमला बाप्टिस्ट चर्च र हिन्दु मन्दिरमा बराबर नै गएर हुर्किएकी थिइन् ।

कमला ७ बर्षकी हुँदा उनका बुबाआमाले डिभोर्स गरेका थिए । त्यसपछि उनकी आमा क्यानडा बसाईसराई गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com