झापामा एकैपरिवारको ४ जनाको जलेर मृत्यु प्रकरण, यसकारण रहस्यमय


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

अर्जुन राजबंशी

शिवसताक्षी नगरपालिका ७, लालझोडामा गत आइतबार राति आगलागीमा परी परिवारका चार जनाको मृत्यु भएको घटना ‘रहस्यमय’ बनेको छ । आगो लाग्नुको कारण खुल्न नसक्दा घटना शंकास्पद बनेको आफन्तको दाबी छ ।
घटनालगत्तैदेखि अनुसन्धानलाई सूक्ष्म रूपमा अघि बढाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताए । घटना प्राकृतिक या नियोजित बन्नेबारे प्रहरी टुंगोमा पुग्न सकेको छैन । घटनापछि लालझोडावासी सशंकित छन् । मृतकका परिवारले घटना नियोजित भएको दाबी गरिरहेका छन् ।

प्रहरीका अनुसार आइतबार राति १० बजेपछि आगलागी हुँदा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको जलेर मृत्यु भएको थियो । उनीहरू सबैको घरमा लागेको आगोले जलेर घटनास्थलमै मृत्यु भएको थियो । आगोले खनालको काठको दुईतले घर पनि जलेर खरानी भएको छ ।

मृतक लक्ष्मणका बुवा रामकृष्णले घटना ‘कर्तव्य’ भएको दाबी गरे । उनले छोराको दुवै हात बाँधेको जस्तोगरी जोडिएको अवस्थामा शव फेला परेको बताए । ‘छोराको लास दुवै हात बाँधिएको जस्तैगरी जोडिएको थियो । औंला सबै जलेका थिए । छोराको हातखुट्टा बाँधेर घरमा आगो लगाएजस्तो देखिन्छ । लासको प्रकृतिले घटना कर्तव्य नै हो भन्ने देखाउँछ । होइन भने, त्यति बलियो छोराले केही न केही उपाय लगाउन सक्थ्यो,’ रामकृष्णले भने, ‘घरको चारैतिर एकैपटक आगो लाग्नु, घरभित्रबाट कसैको आवाज नसुनिनुले पनि घटना प्राकृतिक होइन भन्ने पुष्टि गर्छ ।’

घटनास्थलमा सबैभन्दा पहिला पुगेका छिमेकी मुक्तिनाथ दाहालले घरको चारै दिशामा आगो लागेकाले खनाल परिवारलाई बचाउन नसकेको बताए । ‘आगो देख्नासाथ दौडिएर म सिँढीसम्म पुगेको थिएँ । तर, आगो सिँढीसहित घरको चारैतिर फैलिसकेको थियो । म माथि जान सकिनँ,’ उनले भने ।

खनालको काठको सेन्टरबेरा गरेको दुईतले घर थियो । भुइँतलामा टिनको बेरा थियो । लक्ष्मणको चुरोट, बिँडी खाने आदत थिएन । खनाल परिवारको पशु/चौपाया पनि थिएन । ‘भुइँतलामा पकाउने चुल्हो थिएन । दाजुले चुरोट, बिँडी पनि खानु हुन्थेन,’ मृतकका कान्छो भाइ विनोद खनालले भने, ‘आगो सिँढीदेखि नै लागेको देखिन्छ । पेट्रोल, डिजेल छर्के जसरी घरको चारैतिर एकैपटक आगो लागेको देखिन्छ । यो अवस्थालाई कसरी प्राकृतिक मान्न सकिन्छ ?’

खनालको घरसँगै जोडिएको छिमेकी हेमा सापकोटा घाइते भएको बताइन् । उनले घटना के हो भनेर अनुमान लगाउनै नसकेको बताइन् । ‘हामीले देख्दा पूरै घरमा आगो लागिरहेको थियो । भित्रबाट गुहार या चिच्याएको कुनै आवाज सुनिएन,’ सापकोटाले भनिन् ।

लालझोडाकै कालुमाया भट्टराईले आगो कसरी लाग्यो भन्ने कुराले गाउँका सबैलाई चिन्तित बनाएको बताइन् । ‘घटना भएका दिनदेखि राम्ररी खाना रुचेको छैन । परिवारै सकिनेगरी आगो कसरी लाग्यो भन्ने कुराले हामी सबैलाई सताएको छ,’ उनले भनिन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटना रहस्यमय भएको बताएका छन् । उनले घटनाबारे सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

घटनाबारे प्रहरीले स्थानीयसँग पनि सोधपुछ गरिरहेको छ । खनाल ट्याक्टर व्यवसायी हुन् । अहिले थ्रेसर लगाउने सिजन भएकाले उनले घरमै डिजेल ल्याएर राखेका थिए । घरमा ४० लिटर डिजेल, सय मन धान, मोटरसाइकल पनि थियो । प्रज्वलनशील वस्तु रहेकाले आगो एकैछिनमा घरभरि फैलिएको प्रहरीको भनाइ छ ।

रामकृष्णका ५ भाइ छोरामध्ये लक्ष्मण साइँला हुन् । उनी ५ वर्षअघि परिवारसँग छुट्टिएर लालझोडामा घरभिटा किनेर आफ्नो परिवारसँग बसोबास गर्दै आएका थिए । खनालको पुरानोघर शिवसताक्षी १ साबिक धरमपुर ८ मा पर्छ । छोराको किरियामा बसेका बुवा रामकृष्णले कर्तव्य नै भएको दाबी गर्दै प्रहरीले गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने माग गरे ।

– कान्तिपुरबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com