प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ ।

सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ । ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्न हामी आह्वान गर्छौं ता कि सरकारलाई दबाव पुगोस्,’ अभियानमा सहभागी एक युवकले भने ।

यो

यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो । तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ ।

यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भन्दै भीख मागेको थियो । भीख मागेर संकलन भएको रकमले भण्डारीका लागि नमूना गाडी बनाएर दिने तयारी समूहको छ ।

राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर सार्वजनिक भएलगत्तै व्यंग्यात्मक विरोधस्वरुप नमूना गाडी बनाएर दिन लागिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com