६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने खानेपानी सचिव ठाकुरको दावी


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी गर्नु भएको छ ।

सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन पनि संघीय संसदका सांसदहरुलाई आग्रह गर्नु भयो ।

आईतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पु¥याउने दावी गर्नु भयो ।

सचिव ठाकुरले दशैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत माग्नु भएको थियो । उहाँले सूरुमा मेलम्चीको पानी पूरानै संरचनाबाट वितरण गर्ने पनि स्पष्ट पार्नु भयो । महाँकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ ।

सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाईपलाईन विस्तारको काम सक्न लागिसकेको उल्लेख गर्दै त्यसमा भने पानी परिक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको पनि स्पष्ट पार्नु भयो । मेलम्चीको पानी वितरणका लागि करिव एक हजार किलोमिटर पाईपलाईन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ ।

सचिव ठाकुरले सुरुका ४ महिना भने पूरानै संरचनाबाट पानी घरघरमा पु¥याउने र परिक्षण गर्दै नयाँ पाईपलाईनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिनु भयो ।

काठमाडौंमा पानी आएको ६ महिना भित्र नयाँ संरचनाबाट घरघरमा मेलम्चीको पानीको व्यवस्था गर्ने सरकारको योजना छ । सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय जनताले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नु भयो । उहाँले विगतमा भएका कमीकमजोरीका कारण सो खानेपानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी समेत गर्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com