नेपालका मृगौला रोगीहरूलाई नि:शुल्क डायालिसिस् सेवा किन झन् मुस्किल


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

मृगौला रोगीहरूलाई सरकारले नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको डायालिसिस् अर्थात यन्त्रको सहायताले रगत सफा गर्ने सेवा प्राप्त गर्न झन् झन् मुश्किल हुन थालेको मृगौलाका बिरामीहरूले बताएका छन्।

नि:शुल्क सेवाका लागि पालो नआउँदासम्म महंगो शुल्क तिरेरै सेवा लिन आफूहरू बाध्य भएको उनीहरू बताउँछन्।

हाल सरकारी र निजी गरी देशभरीका ४ दर्जन बढी स्वास्थ्य संस्थामा नि:शुल्क डायालिसिस् सेवा उपलब्ध छ।

तर हरेक वर्ष ३ हजारको हाराहारीमा नयाँ मृगौला रोगीहरू थपिने गरेको बताइएको छ।

डायालिसिस् सेवा
मृगौला पीडितहरूको संस्था राष्ट्रिय मृगौला पीडित संघ नेपालका अनुसार ३ हजार भन्दा बढी मृगौला रोगीहरूले अहिले डायालिसिस् सेवा लिइरहेका छन्। र प्रत्येक वर्ष त्यति नै संख्यामा मृगौला रोगीहरू थपिने गरेको छ।

बिरामीको संख्या बढेसँगै देशभर डायालिसिस् गर्ने मेशिनको संख्या थोरै हुँदा बिरामीहरूले महंगो सशुल्क सेवा लिन बाध्य हुनुपरेको मृगौला पीडित संघ नेपालका अध्यक्ष समिरकुमार पोखरेलले बताए।

उनले भने, “सरकारलाई भनिरहेका छौँ। ‘हेर्दै जाऊँ’ भन्छ। पहिले नि:शुल्क गर्दा आन्दोलन गर्नुपरेको थियो। फेरी पनि अनशन बस्नुपर्ने स्थिति भइसकेको छ।”

अहिले पनि कम्तिमा चार सयको संख्यामा बिरामीहरूले नि:शुल्क सेवाका लागि पालो कुरिरहेको बताइएको छ।

डायालिसिस् केन्द्र विकेन्द्रिकरण गर्नुपर्छ। जस्तै एउटा अञ्चल अस्पतालमा मेशिन संख्या थप्नुपर्छ। एउटा अञ्चलमा १० वटा मेशिन पुर्‍याउन सकियो भने एक दिनमा ३० जनाले सेवा पाउन सक्छन्।
डाक्टर पुकारचन्द्र श्रेष्ठ, मृगौला तथा कलेजो प्रत्यारोपण विज्ञ
सशुल्क उपचार गराउने हो भने उनीहरूले अस्पताल अनुसार एकपटकमा २५ सयदेखि ५ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ।

हाल राजधानी र देशका अन्य भागका सरकारी र निजी गरी ५१ वटा स्वास्थ्य संस्थाबाट डायालिसिस् सेवा सञ्चालनमा रहेको बताइएको छ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् मृगौला तथा कलेजो प्रत्यारोपण विज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन्।

सुझाव
उनले भने, “डायालिसिस् केन्द्र विकेन्द्रिकरण गर्नुपर्छ। जस्तै एउटा अञ्चल अस्पतालमा मेशिन संख्या थप्नुपर्छ। एउटा अञ्चलमा १० वटा मेशिन पुर्‍याउन सकियो भने एक दिनमा ३० जनाले सेवा पाउन सक्छन्। त्यसले थप बिरामी लाभान्वित हुनेछन्।”

सरकारले मापदण्ड पुगेका अस्पतालमा सेवा थप्न स्वीकृती दिने गर्छ।

तर डायालिसिस् मेशिनदेखि त्यस निम्ति आवश्यक दक्ष जनशक्ति र प्रविधि महंगो हुनेहुँदा सेवा विस्तार गर्न मुश्किल हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com