डडेलधुरा बस दुर्घटनामा बाँचेका बालकले जब रूदै आमा खोजे…


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा…. भन्दै रोइरहेका छन् । गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए ।

नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा..आमा..आमा.. ।

डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन ।

चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै । आमाको दुर्घटनामा परी मृत्यु भयो । दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्षअघिदेखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन्।

नवीनलाई हेरविचार गर्ने कोही नभएर हजुरआमा हिरा विकले रेखदेख गर्छिन् । तर, उनी आफूसँग पनि पैसा नभएको दुखेको पोख्छिन् । उपचार कसरी गराउने समस्या भएको बताउँदै उनले सहयोग जुटाइदिन आग्रह गरिन् ।

‘उसको घरमा रेखदेख गरिदिने कोही छैन, आर्थिक अवस्था पनि ठीक छैन, मेरो नजिकको नातेदार पर्ने भएकाले मैले हेरिरहेको छु,’ हिराले भनिन्, ‘ऊ होसमा आउँदा जहिले आमा, आमा…. भन्दै खोज्छ ।’

हिराले आमा बितेको खबर नवीनलाई गरेकी छैनन् । गाउँमै रहेकी नन्दलाई फोनमा कुरा गर्दै उनले आमालाई पठाइदिन झुटो आश्वासन मात्रै दिइरहेकी छन् । ‘बन्द भएकाले गाडी चलेको छैन, गाडी चलेपछि आमा गाडी चढेर आउनुहुन्छ अहिले नरोऊ’ भन्दै हिराले नवीनलाई सम्झाउँदैमा दिन बितेको छ ।

सोही दुर्घटनामा परी घाइते भएका १८ वर्षीय महादेव राउतको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ । महादेवको पनि पीडा नवीनको जस्तै छ । १२ वर्षअगाडि आमाको मृत्यु भयो, आर्थिक अभावमा उपचार गर्न नसकेर तीन महिनाअघि बुबाको मृत्यु भयो । दिदी भारतमा विवाह गरेर उतै घरजम गरेर बसेकी छन् ।

आर्थिक अवस्था कमजोर भएकाले महादेवको पनि उपचारमा समस्या छ । उनको कुरुवा बसिदिने कोही छैनन् । डोटी घर भई काठमाडौंमा बस्दै आएका डडेलधुराकै हेमराज भट्टले घाइतेको उपचार र हेरचाह गरिरहेका छन् ।

आर्थिक अभावले उपचारमा समस्या भएकाले घाइतेहरुको उपचारमा सहयोग गर्न हेमराजले आग्रह गरे । आर्थिक अभावमा उपचारमा समस्या भएका लागि आफूले सहयोग संकलन अभियान सुरु गर्ने उनले बताए । सक्दो सहयोग जुटाउनका लागि उनी अभियान सञ्चालन गर्ने र उनीहरुले सहयोग गर्ने हेमराजले बताए ।

नवीन, महादेवजस्तै ट्रमा सेन्टरमा गन्यापधुरा गाउँपालिका–३, डडेलधुराका २२ वर्षीया मिना भुल, शिखर नगरपालिका–११, डोटीका ३० वर्षीय भक्तबहादुर बलायर र शिखर नगरपालिका–१० का बस सहचालक लोकबहादुर महराको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । तर, आर्थिक अभावमा उपचारमा समस्या छ।

विभिन्न दलका नेताले उनीहरुलाई भेटिरहेका छन् । उपचारमा सहयोग गर्ने आश्वासन पनि दिइरहेका छन्। नेताका साथै जिल्लाका बुद्धिजीवीले रेखदेखमा सहयोग गरिरहेका छन् ।

डडेलधुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा. केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com