शुरु भयो २२ तले धरहराको निर्माण


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

२०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण शुरु भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी रमन जेभीसँग सम्झौता गरेपछि सो कम्पनीले धरहरा निर्माण सुरु गरेको हो ।

कम्पनीले धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको जनाएको छ । सम्झौता अनुसार आगामी दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए ।

अब बन्ने धरहरा २२ तालाको हुने भएपनि पहिलो धरहरा भन्दा केही बढि उचाइको हुनेछ । धरहराको गजुर ६९ दशमलव २ मिटर अग्लो हुने पुननिर्माण प्राधिकरणले जनाएको छ ।

नयाँ बन्ने २४ रोपनी जमिनमा फैलिने धरहरा क्षेत्रभित्र भूकम्पले भत्काएको पहिलेको धरहरालाई सिसाको फ्रेमभित्र राखिनेछ । मनोरम बगैँचा, अन्डरग्राउन्ड पार्किङ समेत निर्माण गरिनेछ ।

धरहरासँगै हाल रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल बनाइनेछ । धरहराको क्षेत्र बढाउन गोश्वारा हुलाक कार्यालय, टक्सार भवन पनि भत्काइँदै छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा सार्नकमा लागि सरकारले १५ रोपनी जग्गा दिएको छ ।

अवको धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिनेछ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल राखिनेगरी बनाइने छ । यस्तै बगैँचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजना समेत छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com