कहाँबाट आयो पुर्व प्रधानसेनापति क्षेत्रीको अर्बौं रकम ?


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

भाद्र २४ गते आइतबारबाट अवकाश पाएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जाँदाजाँदै अकुत सम्पत्ति जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले कमाएको अकुत सम्पत्ति पत्नी रीता बस्नेत क्षेत्री, छोरा अभिषेक र आभुषण तथा स्वयम् उनको नाममा देखिएको हो ।मकवानपुर नगरपालिका वडा नम्बर–४ हेटौडास्थित क्षेत्रीले करोडौंको जग्गा जमिन जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले पत्नी रिता बस्नेतको नाममा विवादास्पद ४ कठ्ठा ७ धुर जग्गा १२ करोड २५ लाख रुपैयाँ खरिद गरेका छन् ।

तर मालपोतमा बढि राजश्व बुझाउनुपर्ने भएपछि करिब ३ करोड रुपैयाँ बराबरको मात्र मुल्याङ्कन गरेर राजश्व तिरेको मालपोत स्रोतले जनायो । क्षेत्रीले पत्नी रिताको नाममा खरिद गरेको उक्त जग्गा इन्धनको कालोबजारी गर्ने विवादास्पद व्यापारी तिर्थ प्रधानको हो । यो खबर आजको जनप्रहारमा छ।

कित्ता नम्बर ३५७१ को ७ कठ्ठा जग्गालाई दुई टुक्रा पारेर केही महिना पहिले ४ कठ्ठा ७ धुर उनले खरिद गरेका थिए । जुन जग्गा ओम चलचित्रको नाममा थियो । २०३४ सालमा नगर विकाससँग ओम चलचित्र बनाउन भन्दै लिएको उक्त जग्गा बेचविखन गर्न नपाइने नगरबिकासको नियम विपरित विक्री भएपछि अख्तियार दुरुपयोग अनुसनधान आयोगलेसमेत छानविन थालेको बुझिएको छ ।उक्त जग्गा प्रधानले नापी, मालपोत, वडाध्यक्ष, मेयर सवैलाई मिलाएर बिक्री गर्न सफल भएका हुन् । त्यसो त हेटौंडा वडा नम्बर–११ मा पनि करोडौंको जग्गा खरिद गरेको भेटिएको छ । जहाँ अहिले क्षेत्रीका छोरा अभिषेकले करोडौंको महल धमाधम बनाइरहेका छन् ।

स्रोत भन्छ, ‘काठमाडौंको सामाखुसी बसोबास गर्दै आएका क्षेत्रीको पुर्खौली सम्पत्ति दुई रोपनी थियो । क्षेत्रीका चार दाजुभाईमध्ये तीन दाजुभाईको जग्गासमेत पूर्वप्रधानसेनापति क्षेत्रीले भर्खरै खरिद गरेका छन् । सो जग्गा अहिले लगभग आनाको ५० दखि ८० लाखसम्ममा खरिदविक्री हुन्छ ।’
त्यसैगरी, क्षेत्रीका छोरा अभिषेकले जाराको ब्राण्ड नेपाल भित्राएका छन् । जसमा करोडौं लगानी रहेको छ ।

अवकाशप्राप्त प्रधानसेनापति क्षेत्री अहिले रातारात नवधनाड्य अर्बपति क्लबमा छिरेका छन् । राजधानीमा मात्र करिब एक दर्जन घर तथा महल किनेको स्रोतको दाबी छ ।
विगतमा क्षेत्रीका चारै दाजुभाईको हैसियत समान रहेकोमा अहिले भने उनको हैसियत एकाएक उकासिएको छ । क्षेत्री पदमै हुँदा उनले गरेको भ्रष्टाचार काण्ड युवा नेता तथा सांसद महेश बस्नेतले छलफलका लागि संसदमा प्रवेश गराएका थिए ।
सांसद बस्नेतले सेनाको नेतृत्व भ्रष्टाचारी भएको भन्दै छानविन हुनुपर्ने माग राखेका थिए । क्षेत्रीले फास्ट ट्रयाकको ठेक्काबाट ४ अर्ब रुपैयाँ भन्दा बढि र सेनाले दिने विभिन्न ठेक्का पट्टाबाट ६ अर्ब बढि कमिसन खाएर अकुत सम्पत्ति जोडेको आरोप छ ।
नेपाली सेनामा हुने चरम भ्रष्टाचारको गन्ध थाहा पाएकै कारण तत्कालिन अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले सेना र न्यायालयमा समेत छानबिन गर्न अधिकार पाउनुपर्ने प्रस्ताव तत्कालिन सरकार र राष्ट्रपति विद्यादेवी भण्डारीसामु राखेका थिए ।

फेक आगलागी काण्ड
यसैबीच, हेटौंडास्थित ओम्याक्स फिल्म हलको फेक आगलागी काण्डमा इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि प्रधान रातारात राजधानी आएर न्यायाधीशहरूसँग मिटिङ बसेको स्रोतले बतायो ।केही दिनमै उक्त ‘फेक आगलागी काण्ड’ मा करोडौंको माग दावीअनुसार नै इन्योरेन्सले भुक्तानी दिनुपर्ने भन्दै मुद्दा हाल्ने तयारीमा प्रधान जुटेका छन् ।

इन्योरेन्स पोलिसी र विमा ऐनले एक ठाउँमा इन्योरेन्स गरेको बस्तु वा सामानलाई अर्को इन्स्योरेन्स कम्पनीमा विमा गर्न मिल्दैन । उक्त हलको दुईभन्दा बढि ठाउँबाट ईन्योरेन्स गरिएको समेत सार्वजनिक भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com