५५ वर्षमै नाैं पटक वृद्धभत्ता बुझे रामबहादुरले


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

पाल्पामा एक व्यक्तिले ५५ वर्षको उमेरमै नाैं पटकसम्म वृद्धभत्ता बुझिसकेको भेटिएको छ। माथागढी गाउँपालिका–३, कसेनीका रामबहादुर चर्मकारले नौं पटक सामाजिक सुरक्षा वापतको रकम बुझेका हुन्।

रामबहादुरले ५५ वर्षकै उमेरमा नौं पटक वृद्धभत्ता बुझेको बताए। उनी भन्छन्, ‘म ३५ वर्षको हुँदा नागरिकता बनाएको ४५ लेखिदिएछन्, मैले अझै अगाडी पाउने रैछु मलाई त पछि अरुले भत्ता लिन जा भनेर लिन गएर लिएको हुँ। पहिला लाज लागेर गईन। अचेल लिने गरेको छु।’

आफुलाई रामबहादुर सार्की बताउने चर्मकारले थर समेत परिवर्तन कसरी भएको जानकारी नभएको बताए। पहिले २/२ हजारका दरले र अहिले दुई पटक ४/४ हजार बुझेकाे उनले बताए। रामबहादुर मजदूरी गरेर दैनिकी सञ्चालन गर्दै आएका व्यक्ति हुन्। उनले भत्ताले खर्च चलाउन सजिलो भएको बताए।

माथागढी गाउँपालिका–३, कसेनीको वडा कार्यालयको तथ्याङ्क अनुसार उनको जन्ममिति २०११ साल भदै ७ गते रहेको छ। उनले २०४६ जेठ ९ गतेका दिन ९६ नम्बरको नागरिकता लिएको तथ्याङ्कमा छ। तर उनको जन्म भने २०२० सालमा भएको हो। कसेनीका स्थानीय घुम्ती टोली मार्फत् रामबहादुरको नागरिकता बनाउँदा जन्ममिति परिवर्तन भएको बताउँछन्। माथागढी गाउँपालिका–३ का वडा सचिव रेवतीरमण ज्ञवालीले नागरिकता ल्याएर भत्ता बुझेकोलाई केही गर्न नमिल्ने बताए। ‘कसैको गल्तीले नागरिकता बनेको हुनसक्छ। नागरिकता बनाएको समयमा भत्ता पाउने थाहै थिएन। अहिले पाउन थालेकोलाई केही गर्न मिलेन,’ ज्ञवालीले भने।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले आफु जनप्रतिनिधिको रुपमा आएपछि अगाडी जे छ त्यही अनुसार सामाजिक सुरक्षा भत्ता बाँडीरहेको बताए। उनी भन्छन्, ‘हामी आउनुभन्दाको कुरा रैछ । माथागढी गाउँपालिकाले अहिले पूनः भत्ता पाउनेहरुको सूची अध्यावधि गरिरहेका छौं। यसक्रममा उठेका गुनासाको सम्बोधन हुनेछ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com