Follow @khasokhasmag

उपचार खर्च सकिएपछि अस्पतालबाट बिरामी श्रीमान् लिएर घर फर्किन् शोभा


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

काठमाडौंको धापाखेलस्थित सुमेरु अस्पताल पुग्दा ‘बेड नं १२५’ का बिरामीका आफन्त घर फर्किने सुर कस्दै थिए। अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर फर्किनेहरुको मुहारमा जस्तो खुसी फर्किन्छ त्यस्तो खुशी उनीहरुमा फर्किएको देखिँदैनथ्यो।बेडमा, अस्पतालकै ड्रेसमा अधबैंसे पुरुष मुढोझैं ढलिरहेका थिए। उनको घाँटीमा पाइप जेलिएको थियो। घरि-घरि हात चलाउँथे तर कम्मर मुनिको भाग स्थिर देखिन्थ्यो। ओठहरु सुक्खा मात्रै होइन, चिराफारा नै थिए फुटेर।अस्पतालको बेडमा ढल्ने मान्छे हुन् उदयपुरको कटारी नग रिपालिका-२ सिमनपुरका थिरराज अधिकारी। उनको उपचार सकिएर अस्पतालबाट डिस्चार्ज भएका हैनन्। आफूसँग भएको खर्च सकिएपछि घर फर्किन लागेका हुन्। थिरराजकी श्रीमती शोभाले भनिन्, ‘उहाँलाई अथवा त हुँदैथ्यो तर के गर्नु हामीसँग पैसा छैन, ऋण काढेर ल्याएको सबै सकियो।’अब थिरराजका परिवारलाई पहिले जस्तो सजिलो पनि छैन ऋण जुटाउन। जति सजिलै मलेसिया र कतार जान्छु भन्दा ऋण पाएका थिए। ऋण काढेरै विदेशिएका थिरराजले ऋण तिरे। घडेरी किने। दुई छोरी बिराटनगर लगेर बोर्डिङ पढाए। त्यसपछि त्यहीँ घर बनाएका थिए।

उनी गत माघमा छुट्टिमा घर आएर कर्मथलो कतार गएका थिए। यो उनको पहिलो कतार यात्रा भने थिएन। यसअघि नै परदेशका भुक्तमान थिए थिरराज।पहिले मलेसिया तीन वर्ष बसेर फर्किएका उनी कतारमा रोजगारी गर्न थालेको पनि नौ वर्ष भइसकेको थियो। तर गत माघको कतार यात्रा भने सुखद रहँदै रहेन। यसपटक घर बिदामा आएर कतार गएको दुई महिनापछि नै उनको घुँडा र शरीरका हाडका जोर्नीहरु दुख्‍न थाले। पूरै जिउ दुख्‍न, पोल्न थाल्यो। काम गर्न गाह्रो हुन थालेपछि निजी अस्पतालमा गए। चिकि त्सकले १५ दिनलाई ‘पेन किलर’ थमाए। त्यसले थिरराजको पीडा कम गर्न सकेन।त्यसपछि सरकारी अस्पताल हमाद पुगे। त्यहाँ पनि उनको रोग पत्ता लागेन। रोग नै पत्ता नलागेपछि उपचार हुने कुरै भएन। उनलाई रोगले झन्‌-झन् च्याप्दै गयो। तेश्रो अस्पताल ओक्रा अस्पताल पुगे थिरराज। त्यहाँ पनि चिकित्सकले ‘यहाँ हेर्ने बिराम होइन’ भनेर रेडक्रसको अस्पतालमा रेफर गरे। त्यो अस्पतालले दिसा–पिसाब जाँच गर्यो। छातीको ‘एक्सरे’ लियो। अल्ट्रा साउण्ड गर्‍यो। यी सबै रिपोर्ट आएपछि अस्पतालका चिकित्सकले भने, ‘तपाईको शरीरमा ब्लड कम छ, मिर्गौला पनि खराब छ।’

त्यति भनिसकेपछि उनले कतारमा बसेर पार नलाग्‍ने निचोड निकाले। थिरराजले सोचे-‘हामी बाहिरका लेबरलाई यहाँ हेप्छन्, राम्रोसँग उपचार गरिदिँदैनन्। म उपचार गर्न नेपाल जान्छु।’उपचारका लागि नेपाल फर्किन थिरराजले कम्पनीमा निवेदन दिए। कम्पनीका सुपरभाइजरले पनि उनको नेपालमै उपचार गराउने कुरालाई समर्थन गरे। १५ दिनको आकस्मिक बिदा स्वीकृत भयो।छुट्टीमा नेपाल फर्किएर फेरि कतार गएको ६ महिना मात्रै भएको थियो। त्यसैले कम्पनीले उनलाई नेपाल फर्किने टिकट पनि दिएन। आफ्नै खर्चमा फर्किनु पर्‍यो। उपचार गरेर फर्किने सोचले थिरराज घर आए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनी सिधै बिराटनगर गए। जहाँ उनको परदेशको पसिनाले बनेको घरमा श्रीमती र दुई छोरी छन्। बिराटनगर गएपछि त्यहाँका अस्पतालमा बुझ्‍न थाले। बि राटनगरमा राम्रा डाक्टर नभएको सुझाव आयो।त्यहाँ सम्भव हुँदैन भनेपछि सिलिगुडी गए। सिलिगुडीको अस्पतालले पनि उनको रोग पत्ता लगाउन सकेन। घुँडाको एक्सरे लिएर केही दबाई दिएर पठायो। कतार र भारतको अस्पताल धाउँदा–धाउँदा उनलाई रोग कम हुँदै जानुको सट्टा झन्झन् रोगले च्याप्दै लगेको थियो। जिउ दुख्‍ने, पोल्ने बिरामीले च्यापेका थिरराजलाई खोकी पनि सुरु भयो।

भारतबाट फर्किएपछि विराटनगरको कोसी अञ्‍चल अस्पतालमा ‘ब्लड’ चढाइयो, र पनि बीसको उन्‍नाइस भएन। त्यसपछि अस्पतालले सल्लाह दियो, ‘तपाईको उपचार यहाँ सम्भव छैन, काठमाडौं जानुहोस्।’त्यसपछि थिरराजलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइयो। शिक्षण अस्पतालमा बिरामी प्याक भएकाले थिरराज ले ‘बेड’ पाएनन्। शिक्षण अस्पतालमा ठाउँ नपाएपछि सुमेरु अस्पतालमा भर्ना भए। धेरै अस्पताल धाएका थिरराजको रोग सुमेरुमै पत्ता लाग्यो।निमोनिया, रक्त क्यानसर, दुवै मिर्गौला ड्यामेज र बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने रहेछ उनलाई। त्यसपछि सुमेरुमा सुरु भएको थियो थिरराजको उपचार। असोज ८ गते अस्पतालमा भर्ना भएका उनको उपचार गर्न अझै ६ महिनाबढी समय लाग्‍ने चिकित्सकले भनेका थिए। ‘रकम जुटाउन समस्या भयो, त्यही भएर चुनौती लिने निर्णयमा पुग्यौं, अब गाउँ गएपछि ऋण खोज्‍न सकें भने फेरि आउँछौं’, शोभाले भनिन्।थिरराजको उपचारका लागि सहयोग गर्न उनकी श्रीमती शोभा अधिकारीको नाममा रहेको एभरेस्ट बैंक मोरङको खाता नं ००८००५०१२०४८३२ मा रकम जम्मा गर्न सकिन्छ ।उनको मोवाइल नम्बर ९८६२१८६३९३ हो।

थिरराजले कतार बसेर कमाएको र कटारीमा भएको अंश बेचेर उपचारमा खर्च गरे। अब घर मात्रै छ। ‘यो पनि बेचेँ भने यीनीहरुको सडकमा बास हुन्छ’, यसो भन्दै गर्दा उनका नजर श्रीमती शोभातिर थिए। दुवै आँखाबाट बररर..आँशु बग्‍न थाले। केहीबेर उ नले कुनै शब्द निकाल्न सकेनन्। पीडा पोख्‍न सायद मन पनि थिएन उनलाई। तर केही सिप नलागेपछि बाध्यता नै बन्यो।पहिलेकै शिलशिला छाडेनन्, ‘मेरा त बालबच्चाको पनि विजोग भइसक्यो। घरमा ताला लाएका छौं, छोरीहरुको पढाई पनि बिग्रियो। कटा रीमा बुवा–आमासँग ल्याएर छाडेका छौं,’ थिरराज ले भने।थिरराजले आफ्नो त्यो अवस्था पनि छोरी र श्रीमतीको चिन्ता लिएको सुनेर होला शोभाको मन भक्कानियो। केहीबेर नि:शब्द उभिइन्। अन्त कतै नजर भुलाउन खोजिन्। उनका नजर पो अन्त गए त, उन लाई पीडाले त छाडेन नि!कतारमा नौ वर्ष काम गर्दा होस् या तीन वर्ष मलेसियामा। थिरराजले अप्ठेरोमा परेकालाई सहयोग गरेकै थिए। कम्पनीमा साथीहरुले कहिले कसको शव पठाउनु पर्ने भयो भन्थे, कहिले को बिरामी परेर अस्पतालमा तिर्ने खर्च पनि भएन भन्थे थिरराज सहयोग गर्न पछि हट्दैनथे।

‘रकम अभावकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गरिन्थ्यो, कति अप्ठेरोमा परेकालाई घर फर्किन पनि सहयोग गरेँ’, थिरराजले ती दिन झल्झली सम्झिन थाले। यी दिन सम्झिँदै गर्दा पनि उनलाई बेकारमा सहयोग गरिएछ भन्‍ने पछुतो पट क्कै थिएन। बरु आफू जस्तै अप्ठेरोमा परेकालाई सहयोग गरेर धर्म गरिएछ भनेर खुशी अनुभूति भइरहेको उनको हृदयमा।आज थिरराज आफूले गरेजस्तै सहयोग कसैबाट खोजिरहेका छन्। तर पाइरहेका छैनन्। अहिलेसम्म उनलाई जापान बस्‍ने गाउँकै भाइहरुले १९ हजार ५ सय पठाइदिए।हुन त थिरराजका परिवारले सहयोगका लागि अभियान पनि चलाएका छैनन्। न त आफ्नो पाउने नै लिएका छन्। वैदेशिक रोजगारीका क्रममा घातक रोग लागेकाहरुलाई वैदेशिक अरोजगार प्रवद्र्धन बोर्डले आर्थिक सहयोग गर्छ। त्यो उनीहरुलाई थाहा नै छैन। विदेशस्थित कम्पनीले पनि सहयोग गर्छ। अनि, नेपाल र विदेशमा गरिएको बीमाबाट पनि बिमा रकम पाउँछन्। निवेदन अहिलेसम्म पनि दिएका नैनन्।

थिरराजका परिवारले विदेशस्थित कम्पनीमा भने आफूले पाउने सेवा सुविधा पठाइदिन इमेल मार्फत निवेदन पठाएका छन्। साथीहरुलाई त्यो मिलाइदिन आग्रह गरेका छन्। तर अहिलहेसम्म कम्पनीबाट कुनै प्रतिक्रिया पाएका छैनन्। कतारमा उपचार गराउँदा पनि क म्पनीले कुनै सहयोग गरेन। थिरराजलाई शंका छ अब त्यो आफूले पाउनु पर्ने रकम आउला कि नआउला !डाक्टरले भनेका छन्, ‘खर्च लाग्छ तर उपचार ९० प्रतिशत सम्भव छ । तपाई यही उमेरमा हरेस नखानुहोस्।’दसैंमा घर गएर आउँदा शोभाले डेढ लाख रुपैयाँ ऋण काढेर ल्याएकी थिइन्। त्यो पनि सकियो, थिरराज थिग्रिएनन्। एक साताका लागि दबाई किनिन् शोभाले। अनि, निमोनियाले थला परेका, रक्त क्यानसर, दुवै मिर्गौलाले काम नगर्ने र बोनम्यारोले थलिएका श्रीमान लिएर साँझ विराटनगरतिर बाटो लागे।थाहा छैन, रकम जुटाउन सक्लान् नसक्लान्। रकम जुटाए भने त सुमेरुमा डाक्टरसँग गरेको वाचा अनुसार एक सातापछि उपचारमा फर्किएलान्। रकम जुटाउन सकेनन् भने…!

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com