लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको विद्युतीय बसमा समेत सरकारी गिद्देदृष्टि


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

बिश्वसमुदायमा सरकारी निकायले पटक पटक लुम्बिनीको नाम भजाउने गरेपनि लुम्बिनीकै नाम भजाउने सरकारी अधिकारीहरु लुम्बिनीको भाग खोस्न पछि पर्दैनन् । लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको साधनमा समेत सरकारी गिद्देदृष्टि परेपछि लुम्बिनीलाई माया गर्नेहरुको मन् कुंडिएको छ ।

लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरि नेपाल सरकारले प्रदूषणमुक्त बस सेवा संचालन गर्न चाहेको धेरै वर्ष भयो । सरकारी चाहना पुरा नभए पनि एशियाली विकास बंैक मातहतको एशियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णयअनुसार लुम्बिनीका लागि पठाएको २ वटा बसमा समेत काठमाण्डौलाई मात्र नेपाल देख्ने सरकारी अधिकारीहरुको नजर लागेको छ । लुम्बिनीका लागि आएको बस काठमाडौंमा संचालन गर्ने गरि उदघाटन समेत गरिएको छ । लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिविले बस र दिने सहमती गरेको थियो ।

एक करोड ७४ लाख मुल्य पर्ने बस सहमतिअनुसार एडिविले लुम्बिनीका लागि त पठायो । तर बस एकाएक काठमाडौं पुर्याएर साझा यातायातमार्फत् संचालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका छन् ।

एडिविले ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता लुम्बिनी विकास कोषसँग गरेको थियो । लुम्बिनीका लागि ल्याइएको बिद्युतीय बस अघिल्लो साताको मंगलबार काठमाण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म संचालन हुने गरी प्रदूषणरहित सवारी सञ्चालन गर्ने भनिए पनि सरकारी लापरबाहीले बस एकाएक काठमाडौं पुर्याइएको छ । लुम्बिनी विकास कोषले भने गौतमबुद्ध विमानस्थल संचालन आए लगत्तै बस पुनः लुम्बिनी क्षेत्रमा संचालन गर्ने दावी गरेको छ ।

बस आउने भनिएपछि लुम्बिनीको संग्रहलाय नजिकैं उक्त बस चाजिंगका लागि करिब १२ करोडको लागतमा स्टेन समेत बनाउन लागिएको छ । लुम्बिनीमा चार्जिङ सेण्टर बनाएर बस भने काठमाडौंमा संचालन गरिएको छ । ३ बस र ११ कार आउन बाँकी छ । लुम्बिनीलाई स्वच्छ वातवरण बनाउने ध्ययले ल्याइएको बिजुली बसहरु काठमाण्डौंमा लगेर शुभारम्भ गरिनु गलत भएको यहाँका बासिन्दा बताउँछन् । लुम्बिनीमा अहिले पुरानो बस र जीप संचालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरु पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य छन् । काठमाण्डौलाई मात्र नेपाल थान्ने सरकारको सामान्त कालिन रबैया आखिर कहिले सम्म रहला ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com