प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ : सभापति देउवा


प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

“हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उहाँले भन्नुभयो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताउनुभयो । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री कोइराला विसं २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहनु भएका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com