Follow @khasokhasmag

तनहुँको व्यास–३ मा निःशुल्क वाइफाई जडान


प्रकाशित मिति : आश्विन ३०, २०७५ मंगलबार

तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो ।

वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गरे । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिए ।

एकै पटक १०० जनाले प्रति व्यक्ति दुई एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वल्र्डलिङ्कका दमौली शाखा प्रमुख मनोज मल्लले बताए । लगातार एक घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ । वल्र्डलिङ्ककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।चौतारा निर्माण समितिको आग्रहमा वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताए ।

निर्माण हुन लागेको तीन सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियानअन्तर्गत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वल्र्डलिङ्कले इन्टरनेट जडान गरिदिएको जानकारी दिए । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com