प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम समेत हुन नसक्दा लाजले शीर झुक्यो
प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार
– रविन बज्राचार्य
हामी परदेशमा बसेर नेपाली हौं भनेर विश्वसामु बडो गर्व गर्छौं । प्रवासमा बसेर पनि हामी नेपाली हौं भनेर नागरिकताको निरन्तरताको माग गरिराखेका थियौं । नेपाल सम्मै गएर पनि हामी नेपाली हौं, नेपाललाई दुखेको बेला हामीलाई पनि दुख्छ, नेपालको विकासमा हामी पनि सहभागी बन्न चाहन्छौं, हामीलाई धार्मिक , सांस्कृतिक र सामाजिक अधिकार सहित अन्य नेपाली सरह अधिकारयुक्त नागरिकता दिनुस भनेर बिभिन्न सांसदहरुलाई भरोसा दिलाएर , पहल गरेर फर्केको दुई हप्ता पनि भएको छैन । तर बहुमत नेपाली जनताले , निर्वाचनबाट चुनिएका, सरकार चलाउने जिम्मेदवारी पाएका मेरो जन्म भूमि, मेरो प्यारो देश नेपालका सरकार प्रमुख, सम्माननीय प्रधानमन्त्रीमाथीको न्युयोर्कमा भएको अपमानबाट मेरो शीर झुकेको छ ।
सम्माननिय प्रधानमन्त्रीज्यू देशको प्रतिनिधित्व गरेर सरकारी कार्यको लागि अमेरिका आउनु भएको हो । तसर्थ सरकार प्रमुखको अपमान गर्नु भनेको देशकै अपमान गरेको ठहरिने छ । मेरो कर्मभूमिमा हाम्रा धेरै जान्ने बुझ्नेहरुले गरेको यस अपमानको लागि म सम्पूर्ण नेपाली जनताहरुमा क्षमा माग्न चाहन्छु ।
यसका लागि प्रमुख दोषी माननीय राजदूतज्यू लगायत राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्क हो । देशकै प्रधानमन्त्री आएको बेला उहाँको सम्मानमा किन एउटा स्वागत कार्यक्रम समेत आयोजना गर्न सकिएन ? किन संबिधान जलाउनेहरुको समेत आयोजनामा स्वागत कार्यक्रम तयार पारियो ? यो प्रश्नको जवाफ जनतालाई दिनु पर्नेहुन्छ । हिजोका दिनमा कार्यक्रम गर्न आतुर एनआरएन अन्तिम अवस्थामा आएर किन पन्छिए ? यसबारे एनआरएन अमेरिकाले जवाफ दिने कुरामा चै म बिश्वस्त हुन सकिन्न ।
प्रधानमन्त्रीज्यू नेकपाको मात्रै प्रधानमन्त्री हुनुहुन्न । उहाँ सम्पूर्ण नेपालीका प्रधानमन्त्री हुनुहुन्छ । उहाँको पार्टीको समर्थक म नभएपनि उहाँ मेरो प्रधानमन्त्री हुनुहुन्न भनेर भन्न मेरो नैतिकताले दिंदैन । प्रजातन्त्रमा बिश्वास गर्नेले जनताको अभिमत मान्नैपर्ने हुन्छ ।
यसो भन्दै गर्दा वर्तमान सरकारले गर्दै गरेका कमीकमजोरीलाई म बिर्सन चाहन्न । बढ्दो भ्रष्टाचार र अपराधको म पनि खुलेर बिरोध गर्दछु । आर्थिक लगानीको लागी सुरक्षा र सुव्यवस्थाको म पनि माग गर्दछु । उहाँका कतिपय कार्य शैलीमा मेरो पनि विरोध र विमती छ । तर पनि उहाँ हाम्रो सरकार प्रमुख हुनुहुन्छ । र म उहाँलाई न्यूयोर्कमा स्वागत गर्न चाहन्छु । विरोधको लागि विरोध मात्रै गर्नु र कालो टालो देखाउनुको सट्टा म रातो कार्पेटमा स्वागत गर्न चाहन्छु ।
अझै पनि समय छ । न्यूयोर्कमा रहेका हामी सबै नेपाली मिलेर प्रधानमन्त्रीज्यूको सम्मान गरौं । एउटा नयाँ चलनको शुरुवात गरौं । एक किसिमको सौहाद्रता देखाऔं । शिष्टाचार देखाऔं । अतिथी देव भव : को मन्त्र जप्ने नेपालीले नेपालकै प्रधानमन्त्री आउँदा समेत सम्माननीयलाई अपमाननीय बनाएको देख्दा लाजले आज यो मेरो शीर झुकेको छ ।
बज्राचार्य न्युयोर्क निवासी एनआरएन अभियन्ता हुन् ।