प्रहरीले गोली चलाउँदा ढले आन्दोलनकारी सडकमै
प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारी सडकमै ढलेका छन् ।
प्रहरी प्रशासनले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै सर्वसाधारण आक्रोशित भएर आन्दोलन गरिरहेका छन् । प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय रोडतिर आन्दोलनकारीले प्रवेश गर्न खोज्दा गोली चलाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरू भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि शुरू भएको आन्दोलन उग्र बन्दै गएको छ ।
आन्दोलन शुरू भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो ।
आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गोली लागेपछि बगेको रगतले सडक रगताम्मे भएको छ ।









