Follow @khasokhasmag

अमेरिकामा गुमाएको भावनात्मक सम्वन्ध र संवेदना


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

– शारदा शर्मा

सायद अमेरिका भनेपछि आकर्षण नहुने कोहि पनि छैनन् होला । हरेक मान्छेको सपनाको देश । बिकसित र सुबिधा सम्पन्न देश । हाम्रो जस्तो सानो र अबिकसित देशबाट अमेरिकाको सपना बुन्नु स्वभाबिक पनि त हो । मान्छेहरु अमेरिका पुग्नकै लागि बिभिन्न जोखिम मोल्न तयार छन् आज पनि । समयसंगै कतिका चाहानाहरु पुरा हुन्छन् कतिका सपनाहरु सपनामात्र बन्छन ।

सानोमा मामाघरमा जाँदा हजुरआमाले भन्नुहुन्थ्यो पल्लाघरे बाबुराम अमेरिका गएकोले शहरमा घर बनायो धेरै पैसा कमायो । अहिले त सबै परिवारनै अमेरिकामा छन् । मलाइ अचम्म लाग्थ्यो । कस्तो देश होला जहाँ यति धेरै पैसाका रुख हुने, जस्ले जति टिपेपनि पाइने । म गएर पैसा टिप्न पाए चक्लेट किनेर कति खानेथिए होला । यसरी अमेरिका र त्यहाको पैसाको रुखको बिषयमा मैले कल्पना गर्थे । समय संगै म पनि ठूली भंए ।

राम्रो केटो खोजेर बिहे गर्दिने मेरो बुवाको चाहानापनि पुरा भयो । काठमाडौंमा जागिर भएको केटो, छोरी सजिलै पाल्छ भनेर उँहाहरु यतिधेरै खुसी हुनुहुन्थ्यो । लाग्थ्यो उँहाहरुको सबै सपनाको केन्द्र मनै हुँ । हुन त मेरो भाइ र म मात्र मेरा बा आमाका सन्तान थिएनौ दिदीहरुको पहिल्यै बिहे भएर पनि होला छोरीहरुको अन्तिम बिहेमा बुवाआमाहरु यतिधेरै उत्तेजित बन्नु भएको । म सानै थिए भर्खर एस.एल .सी. गरेर गाउमै स्कुल पढाउन शुरु गरेकी थिए । किन हो उँहाहरु आत्तिएर मेरो बिहेको तयारीमा लाग्नु भयो । काठमाडाँैको जागिरे भनेपछि गाउमा पनि धेरै हल्ला भयो म र मेरो बिहेको बिषयमा । सामान्य खान लाउन हामीलाई दुख थिएन । दिदीहरु आ–आफ्नो घर गैसकेका थिए र पनि काठमाडांैको जागिरे केटो भेटिएपछि मेरो बिहे निश्चित भयो । जीवन र जिन्दगीलाई सामान्य रुपमापनि बुझ्न नपाउदै हुन लागेको आफ्नो बिहे सुनेर म आफै अलमलमा थिए । आम्मै काठमाडौं ? सायद अमेरिका त्यहांवाट नजिकै पर्न सक्छ । म भित्रको कौतुहल्ता बढेर हुरीनै चल्थ्यो ।

साथीहरुले अनेक कुरा गरेर जिस्क्याउथे काठमाडांै र अमेरिकाको यात्रा भन्दै । घरमा बिहे पक्का भए पनि उहाँलाई मैले देखेकी थिइन । मेरो दिदीको घर नजिकैको मान्छे दिदीहरुले हेरेपछि हामीले हेर्नुनपर्ने थियो । बिहेको समय नजिकिदै थियो, बिहे हुने दिनसम्म आइपुग्दा अलि अतासिएको अनुभव भयो । मन नरमाईलो भयो । अन्तत बिहे भयो नै । बिहे पछि हामी काठमाडौं आउने दिन मेरो बुवा आमाहरु धेरै रुनु भयो । हामीलाई छोडन बसपार्क आउदा मेरो सासु ससुरा नन्दहरुले निकै अमिलो मुख बनाउनु भयो । मलाई पनि त्यति रमाइलो लागेको थिएन । पहिल्यै दिदिसंग एकपटक गएको काठमाडांैले मलाई कति आफ्नो पन देला ?? मेरो मनले आफैलाई प्रश्न गरिरहेको थियो । बसपार्कबाट बिदा गर्दा अब मेनुकाको जिम्मा तपाइको भनेर बुवाले उहाँंलाई अंगालो मारेर रुनु भयो । यसरी हामी काठमाडौं आयौ । काठमाडौं आएपछि उँहा अफिस जानुहुन्थ्यो म घरमा नै बस्थे । मैले सोचेभन्दा निकै सहज पाए उहाँलाई । चार पाँंच महिना पछि एकदिन उहाँले नै कुरा निकाल्नु भयो मेनुका पढाइ शुरु गर । मैले पढाइ सुरु गरे । उहाँको साथीको स्कुल रहेछ पढाउन पनि सुरु गरें । बिदाको दिन हामी घुम्न जान्थ्यौँ ।

कहिले साथीभाई घरमै बोलाउथ्यौँ । निकै सहज रुपमा जीवनले बाटो लियो । समय बितेको पत्तै नहुने रहेछ काठमाडौं बस्दा नै दुइ छोराछोरी जन्मे । छोरी जन्मेको दिन उहाँले साथीभाइ सबैलाई आफैले बनाएर घरमै मःम पाटी दिनुभयो । हामी बिचको माया र सम्वन्ध देखेर सबै चकित हुन्थे । कति भाग्यमानी मेनुका भन्दै मेरो प्रसंसा हुन्थ्यो । कहिल्यै पनि अमेरिकाको कुरा उहाँले गर्नुहुंदैनथ्यो । कहिलेकाही म भित्रको अमेरिका प्रतिको सुसुप्त चाहाना बाहिर ल्याउन खोज्थे तर अमेरिकामा पैसा टिप्ने रुखनै हुन्छन भन्ने मानसिकता भने हटिसकेको थियो । यसै बिचमा हामीले काठमाडौंमा एउटा घडेरी पनि किनियो । मलाइ कुनै दुख थिएन बच्चाहरु स्कुल जान्थे मैले कुनै जागिर गरेकी थिइन बच्चाहरु भएपछि रेखदेखमा नै दिन बितेका थिए । बिदाको दिन उहाँले आफै पकाएर बिभिन्न परिकार खुवाउनु हुन्थ्यो ।

एक दिन अफिसबाट आउदा मलाई भन्नुभयो मेनुका आज मैले अमेरिकाको डिभी भरेर आएनी । म चकित भए । एकपटक चर्चा नभएको बिषयमा उहाँको चाहाना देखेर म भित्रको सुसुप्त चाहानाले डीसी र क्यालीफोर्नियाको पुरा भ्रमण गर्न थाल्यो । रुखमा पैसा फल्छन भन्ने बाल मानसिकताबाट माथि उठेर काम गरेपछि पैसा जति पनि छ भन्नेमा पुगेकी मलाई, मात्र भरे भनेको डीभीले सिगंो अमेरिका घुमाउदा सायद मध्यरात भैसकेको थियो । छोराछोरी, मायां गर्ने श्रीमान र अमेरिकाको डलरले मलाई निद्रा पर्न निकै गाह्रो भयो । सामान्य चिठ्ठा समेत नपरेका हामीलाई साँच्चै डीभी पर्याे ।

अव हामी अमेरिका जानेनै भयौ । डीभी भरिसकेका यी महिनाहरुमानै मैले सबै मानसिकता अमेरिकाको बनाइसकेकी थिएं । डीभी परेर जाने निश्चित भएपछि मैले आमालाई फोन गरे । आमा मेरो कुराले फोनमै रुनु भयो । छोरी अब सातसमुन्द्र पारी जानेभै भनेर । त्यतिबेलै बुवाले फोन लिएर हामी पनि आउन मिल्छ मेरी मेनुका अव काठमाडौंबाट अमेरिका जाने भै भनेर खुशी हुनु भयो । साँच्चै हामी अमेरिका जाने दिनपनि आयो । गाउबाट हामीलाई बिदाइ गर्न बुवा आमा सासु ससुरा सबै आउनु भयो । काठमाडौं अनौठो लाग्ने परिवेशमा हुर्किएकी मलाई अमेरिका पठाउन आउदा मेरा बा आमाको आँखामा खुसी र चिन्ताका बादलहरु बराबरनै मडारिइरहेका थिए । हामीलाई बिदाइ गर्दा फेरि दोस्रोपटक मेरो बा ले मेनुकाको अव झनै वढी जिम्मेवारी तंपाइको काँधमा ज्वाइ साप भन्दै नाती नातीनालाई काख समाउदा सबैका आँखा रसाएको प्रष्ट देखिन्थ्यो ।

साँच्चै हामी जहाज चढ्र्यौ । सपना देख्नु र पुरा हुनुमा पक्कै पनि फरक छ । अमेरिकाको लामो सफरमा मैले सिगो जीवन नियाले त्यहाँ भन्दा बढी खुसीको अपेक्षा गरे नपुग्ने त केही थिएन । बच्चाहरु छन् । माया गर्ने श्रीमान, पैसाको पनि खासै समस्या हुनदिनु भएन उहाँले । पटक्कै आँखा लाउन सकेन । बच्चाहरुलाई एसीको चिसो हुन्छ भनेर उहाँले कपडा ओडाइदिनु भो, हामी अमेरिका पुग्र्यौ ।
सपनाको देश, सुबिधा सम्पन्न देश सायद जहाज बाट ओर्लिदा मेरा खुट्टा कापीरहेका थिए । खै किन हो मलाई खुसी संगै डर पनि लागिरहेको थियो । अमेरिका जस्तो ठाउँमा सेटल हुने कुराले मन खाइरहेको थियो । तर पहिले अलि गाह्रो भए पनि हामी सजिलै एडजस्ट भयौ । बच्चाहरुलाई स्कुल भर्ना गरियो । उहाँले काम गर्न थाल्नु भयो ।

पहिलो महिनाको तलब बुझेर घरमा आउँदा उहाँले मेरो हातमा पैसा राख्दै भन्नुभयो अमेरिका र नेपालको फरक यहि हो मेनुका । म पनि निकै एक्साइटेड बनेकी थिए । हामी निकै खुसी थियौ त्यहा पनि । बिदामा साथीभाइ बोलाउने उहाँको स्वभाव त्यहाँ गए पनि बदलिएको थिएन असाध्यै रमाइलो गर्नुपर्ने समय बित्दै थियो एकदिन उहाँलेनै यहां बस्न भन्दा काम गर्नुपर्छ मेनुका भनेर एउटा स्टोरमा काम लगाइदिनु भयो । अव म पनि काम गर्न जान लागे । साथीभाइसंग भेटघाट र गफगाफ हुन थाल्र्यो । महिना बिते पछि मैलेपनि तलब बुझेँ, मेरो र उहाँको तलब बरावर थियो ।

साँच्चै जीवनले कोल्टो फेर्न समय नलाग्ने रहेछ । खै किनहो काठमाडौंकी मास्टर्नी मेनुकालाई अव भान्सामा भात पकाउने रहर मरिसकेको थियो । शिव भगवानको कसम खाएर श्रीमानको लागि ब्रत बस्ने मेनुकालाई अव कुनै जाँगर पनि थिएन पुजा–पाठमा । यो नेपाल हैन यहाँ महिलाहरुलेपनि पुरुषकै जति कमाइ गर्न सक्छन । स्वतन्त्र रुपमा बाँच्न सक्छन् । स्वतन्त्रताको सिढी चढ्दै जाँदा काठमाडौंकी मास्टर्नी मेनुका अमेरिका पुगेर कतिबेला मनु बनि थाहै भएन । महिला स्वतन्त्रता , मुक्ति र समानताको भोकले होला धेरै अनुभव र अनुभुतिहरुले जीवनको गहिराइसम्म छुंदै जाँदा मात्र साँच्चै जीवन के हो भनेर म अतासिए । अमेरिकामा चुनाबको लहर चलेको थियो । काठमाडौंकी मास्टर्नी अमेरिकामा अंग्रेजी खर्रै फलाक्न सक्ने भैसकेकी थिइ । पत्रपत्रिका हेरेर स्टोरमा कामगर्ने र साथीभाइसंग छलफल पनि गर्ने गरिन्थ्यो । अनेक अल्पविकसित देशका मान्छेहरु कामकोलागि अमेरिका आएर स्वतन्त्रताको राम्रै अनुभव गरेका थिए । हामी नेपाली के कम ।

पतिको थर राख्नु परेकोमा स्वतन्त्रताको खिस्सी उडाए जस्तो लागेर थरै फेर्ने अवस्थामा पुगिरहेकै समय अमेरिकी चुनाबका दुइ हस्ती डोनाल्ड र हिलारी क्लिन्टनको ठूलै चर्चा भयो । हिलारी किलिन्टनले पतिको थर राखेकोमा निकै दया लाग्यो । यतिधेरै अधिकार सम्पन्न देशमा पनि महिलाहरु माथि चरम दमन रैछ । स्वतन्त्ररुपमा बाँच्नपाउने अधिकारलाई यहाँपनि पतिको थर सग जोडेर महिला माथि हिंसा गरिदो रहेछ । मनमा अनेक कुराहरु सल्वलाउन थाले । हैन अव कुरा उठाउनु पर्छ यस्तो पनि हुन्छ ? मनमा हुंडरी मच्चियो । सोचे हैन विल किलिन्टन र हिलारी पनि त संगै छन । उनीहरु त निकै खुसीछन् त फेरि हामी ? मैले सिगाें स्वतन्त्रता नियाले आफैले उपयोग गरेको स्वतन्त्रताले आफैलाई पसिना पसिना बनायो ।

साँच्चै खुसी के हो त । स्वतन्त्रता के हो ? अनि समानता केहो ? स्वतन्त्रताको नसा चढ्दै गएपछि हामी एक–अर्कालाई सम्मान गर्न समेत छोडिसकेको अवस्थामा कुन स्वतन्त्रताको उपयोग गर्दैछौ हामी ? त्यो रात मलाई निद्रा पनि परेन । हाम्रा ओछ्यानहरु अलग भएको धेरै समय भैसकेको थियो । पैसा सम्पन्नता स्वतन्त्रता र आधुनिकताको प्रयोगले के साँच्चै हाम्रो खुसी लुटीएकै हो ? मैले विगत नियाले हरेक कुरा एकअर्कामा नभनी रहन नसक्ने आदत परिसकेका हामी कति बेला एक्ला–एक्लै हुन सिकियो दुवैजनालाई थाहा भएन । बाथरुम गएर पानीमा भिज्न मन लाग्यो, चिच्याएर रुन मन लाग्यो , अनलाइन च्याट मार्फत भेटेको बुरुन्डीको केटासंग गएकी छोरी दुइवर्ष भयो हामीसंग नआएको । छोरा दिनदाहाडै चुरोटको नसामा भएपनि आफ्नो गुजारा गरेकै छ । साँच्चै कहाँ गयो त्यो भावनात्मक सम्वन्ध ? कहां अन्त भयो आफ्नो पन ??  के पैसा र सम्पन्नताले भावनात्मक सम्बन्ध किन्न सकिन्छ । मलाई छाँगाबाट खसेको भान भयो । त्यतिधेरै मायां गर्ने श्रीमान मेरा बच्चा बच्चीहरु ? कुन स्वतन्त्रताको अनुभुति हो यो जो आफैलाइ भित्र–भित्र खाइरहेको छ ? के समानताको प्रयोग हो यो जहाँ कुनै रस छैन नढाँंटी भन्नुपर्दा बाँच्नुको कुनै मज्जा छैन ।

साँच्चै अमेरिकामा बस्ने मनुले हैन जीवन जीउने कुरामा काठमाडौंकी मेनुकालेनै ह्रयाट्रिक मारी । स्वतन्त्रताको उपयोग गरी, जीवन बुझी अनि जिन्दगी नियाली । यो स्वतन्त्रताको बोझ आज पनि चुरोटको धुवांसंगै उडिरहेको छ । पैसाले हैन मायां आफ्नोपन र भावनाले दिन्छ । मान्छेसंग पैसा नभएपनि खुसी रहन सक्छ भावनात्मक संवन्ध बलियो बन्यो भने । उसमा उर्जा आउछ उ संधै बलिरहन्छ तेज बत्ति जस्तै । तर जव पैसाले स्वतन्त्रता किनेर सम्पन्नताको रवाफमा चल्न थाल्छ दुनिया सांच्चै सुकिला कपडा भित्रको मैलो पखाल्न नसकेर उ निकै छट्पटिएको हुन्छ , जिउदै समाप्त भएको हुन्छ । त्यसैले आज सोच्छु स्वतन्त्रतालाई मैले बुझ्न सकिन या स्वतन्त्रताले मलाई बुझ्न सकेन । चुरोटको धुवाँसंगै स्वतन्त्रताका यी प्रश्नहरु र मैले उपयोग गरेका जिन्दगीका चामहरु भन्दा पैसा बिहिन भावनामा रमाएका ति क्षणहरुमा म धेरै धनी थिए , सम्पन्न थिए । समयको अभावमा एक अर्कालाई बिर्सिएर लिएको स्वतन्त्रताको तितो स्वादले जीवननै निरस र बिसर्जन पुर्ण भएको महशुस गरें मैले ।

किन किन आजको समाजले लिदै गरेको गति देखेर वाक्क लाग्न थाल्यो । धर्म संस्कृतिलाई अनुशासनको धरोहर भनेर बिर्सिदै जाँदा जिन्दगीले सोधेका तमाम प्रश्नहरुको उत्तर दिन नसकेर आज पनि म लाचार बनेकी छु । अमेरिका मेरो सपनाको शहर थियो, मेरो लुकेको रहर थियो तर यहि शहरको रहरले मलाई बिर्सनै नसक्ने कहर दियो । सोच्दैछु बुझ्न मैले सकिन या दोषी यहि शहर थियो ? स्वतन्त्रता ,सम्पन्नता र अधिकार उपभोग गरेर रित्तोपन बोकाइरहेको यो पल के मेरो लागि यस शहरको ठहर थियो ? त्यसैले लाग्छ आजको समाज स्वतन्त्रता उपभोग गर्ने बहानामा आफुभित्र रित्तो हुदैछ ।

चाहे अमेरिका होस चाहे नेपाल । समाज सामाजिक संरचना परिवार र आफुले आफुलाई बुझ्नेहरु जहिले पनि स्वतन्त्र छन् हरेक कुरामा खुसी छन । जहाँ सम्पन्नता र पैसाले मानबिय संबेदनाको खरिदबिक्रि हुन थाल्छ त्यहा साँच्चै खुसीको गला रेटिएकै हुनेरहे छ । जव आफ्नो खुसी रेटिएको थाहा पाउछ मान्छेले त्यतिबेला धेरै ढीला भैसकेको हुनेरहे छ । आफु आफ्नो सोच र आफ्नोपन बाट नै हरेक खुुसी हरेक स्वतन्त्रताको उपभोग गर्न सक्छ मान्छे । त्यसैले आफुले आफुलाई बुझेर आफ्नो पन बचाइ राख्न सक्नेहरुमात्र स्वतन्त्र र सदा सदा खुसी रहन सक्ने रहेछन । लाग्यो स्वतन्त्रता भन्दा पनि खुसी बलियो छ खुसीको लागी भावनात्मक संवेदनाको खांचो छ जहां स्वतन्त्रताको बहानामा हरेक कुराको खरिदबिक्री सुरुहुन थाल्ने रहेछ त्यहाँ त केही पनि रहने सम्भावनानै हुनेरहेन्छ । कुरा सोच र बिचारको रै छ , अनुशासन र अनुशरणको रै छ त्यसैले त सोच्छु अमेरिका हाम्रो सपनाको शहर थियो या विर्सजनको बाटो ?

 

यो कथा एबीसी टेलिभिजनबाट साभार गरिएको हो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com