आफूलाई बुद्ध बताउँदै आतंक मच्चाउने धार्मिक नेतालाई मृत्युदण्ड


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

बुद्धपछि आफूले ज्ञान पाएको दावी गर्दै आतंकवादी गतिविधिमा संलग्न एक धार्मिक नेता आसहारालाई जापानमा मृत्युदण्ड दिएको छ । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो ।

धार्मिक आवरणमा उनी आतंककारी गतिविधिमा संलग्न थिए । २३ वर्षअघि टोकियोको एक सबवेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक संगठन अम सिनरिक्यो समूहका नेता थिए । उनले ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाएका थिए ।

उनी सन् १९९५ को २० मार्चमा टोकियोको एक सबवेमा स्नायू प्रणालीमा असर पुर्‍याउने विशालु ग्यास आक्रमण गर्ने मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् ।

अम सिनरिक्यो एक धार्मिक सम्प्रदाय हो । यसका संस्थापक सोको आसहारा हुन् । उनले आफूलाई जिसस क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान पाएको’ दावी गर्दथे ।

सन् १९८९ मा जापान सरकारले अम सिनरिक्योलाई धार्मिक संस्थाको मान्यता दिएको थियो । अम सिनरिक्योको अर्थ ‘सर्वोच्च सत्य’ रहेको यसका अनुयायीहरु बताउँछन् ।

उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर छरिएका थिए । तर जब आफूहरु बाहेक यो पृथ्वीमा रहेका सबै ध्वस्त हुँदैछन् भनेर यसले प्रचार थाल्यो, त्यसपछि बिस्तारै यो सानो संख्यामा खुम्चियो । टोक्योको सबवेमा गरिएको विशालु ग्यास आक्रमणपछि पनि यसका अनुयायीहरु घटे ।

सन् १९९५ को विशालु ग्यास आक्रमणपछि अम सिनरिक्यो भूमिगत भयो । त्यसपछि यसले आफ्नो नाम परिवर्तन गरेर ‘एलेफ’ र ‘हिकारी नोवा’ राख्यो । अमेरिका लगायतका देशहरुले अम सिनरिक्योलाई आतंकवादी समूहको सूचिमा राखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com