दाउमा मेसीको साख, नाइजेरियाविरुद्ध भाग्य जाँच्दै अर्जेन्टिना


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

आइसल्यान्डसँगको बराबरी र क्रोएसियाको हातबाट लज्जास्पद हारपछि अर्जेन्टिना मंगलबार राति नाइजेरियाविरुद्ध स्पष्ट जितका लागि मैदानमा उत्रिँदैछ । आफ्ना स्टार खेलाडी लियोनेल मेसीको विश्व कप २०१८ मा आफ्नो आशा कायमै राख्ने हो भने नाइजेरियाविरुद्ध नेपाली समय अनुसार आज राति पौने १२ मा हुने खेल हरहालमा जित्नै पर्नेछ ।

अर्जेन्टिना र मेस्सीले विश्व भरमा फैलिएका आफ्ना करोडौँ दर्शकलाई अहिलेसम्म निराश बनाएका छन् । यस्तोमा आफ्नो प्रतिष्ठा बचाउनका लागि अर्जेन्टिनासँग यो गतिलो अवसर हुनेछ ।

यतिले मात्रै पुग्दैन, अर्कातिर यही समूहको अन्तिम खेलमा आइसल्यान्डलाई क्रोएसियाले हराओस भन्ने कामना पनि अर्जेन्टिनाले गर्नुपर्नेछ । यस्तोमा यदि आइसल्यान्डले उलटफेर गरेमा पनि अर्जेन्टिनासँग गोल अन्तरले अघि बढ्ने अवसर छ तर यसका लागि उसले नाइजेरियालाई फराकिलो अन्तरले हराउनुपर्ने छ ।

सन् २०१४ को उपविजेता अर्जेन्टिना यो स्थितिमा पुग्नुमा आफैँ दोषी रहेको छ। प्रशिक्षक जर्ज साम्पाओलीको निर्णय पनि हैरान बनाउने किसिमको छ । उसको रक्षापंक्तिले लाचार प्रदर्शन गर्यो भने मध्यपंक्तिले पनि निराश बनाउन कुनै कसर छाडेन ।

यहाँसम्म कि मेसी पनि समर्थकलाई निराश बनाउन पछि परेनन् । उनले आइसल्यान्डविरुद्ध पेनाल्टी समेत गोलमा परिणत गर्न सकेनन् जसको पीडा अर्जेन्टिनाले अहिलेसम्म पनि गरिरहेको छ।

अर्जेन्टिनाको नाममा अहिलेसम्म २ खेलबाट केबल १ अंक मात्रै छ। यदि नाइजेरियासँगग बराबरी या हार भोग्यो भने अर्जेन्टिना विश्वकपबाट बाहिरिनेछ ।

फेरि पनि अर्जेन्टिनाको आशा मेसीमाथि टिकेको छ जसको ह्याट्रिक मद्दतले टिम अन्तिम समयमा विश्वकपमा छनोट भएको थियो । मेसीले कमाल गर्नका लागि टिमले एक भएर खेल्न जरुरी छ, यसबीचमा टिमका प्रशिक्षक र खेलाडीबीच विवाद सार्वजनिक भएकाले पनि अर्जेन्टिनाले आज टिम गेम खेल्ने बाहेक अर्को विकल्प छैन ।

आइतवार आफ्नो ३१ औँ जन्मदिन मनाएका मेसीसँऊ अर्जेन्टिनाको तर्फबाट कुनै पनि ठुलो उपाधि जितेको रेकर्ड छैन । अहिलेसम्म उनले रुसमा गोल पनि गर्न सकेका छैनन् । विश्वकपमा छनोटका लागि भएको अन्तिम खेलमा उनले इक्वेडरविरुद्ध गरेको ह्याट्रिकले पनि पुष्टि गर्छ ।

यसअघि नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलको कुरा गर्ने हो भने सर्जियो एगुएरो, गोन्जालो हिगुइन र पाउलो डायबाला जस्ता खेलाडीले केही गर्न सकेनन् । त्यतिबेला अर्जेन्टिना ४-२ ले पराजित भएको थियो ।

अर्जेन्टिनालाई गोन्जालो हिग्वेनको आश

नाइजेरियाको टिम मैत्रीपूर्ण खेलमा निकालेको जितबाट प्रेरणा लिएर मैदानमा उत्रनेछ । उसका खेलाडीले विश्वकपमा पनि प्रभा छाड्न सफल भएका छन् । अहमेत मुसाले दुई गोल गरेपछि नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको थियो ।
विशेषगरी आइसल्यान्डविरुद्धको दोस्रो खेलमा उसले गरेको प्रदर्शनलाई कायमै राख्य भने अर्जेन्टिनाविरुद्ध नतिजा आफ्नो पक्षमा पार्न सफल हुनेछ । दक्षिण अमेरिकी टिमका लागि नाइजेरियालाई हराउन सजिलो छैन, निक्कै दबाबमा रहेको अर्जेन्टिनाले यदि जित निकाल्यो भने अन्तिम १६ को ढोका खुल्नेछ ।

नाइजेरियाले अहिलेसम्म तीनै स्थानबाट राम्रो प्रदर्शन गरेको छ। भिक्टर मोसेस र अहमेद मुसाले प्रतिद्वन्द्वी टिमको रक्षापंक्तिमा गोल दाग्न कुनै कसर बाँकी राखेका छैनन् ।

यस्तोमा यदि अर्जेन्टिनाका गोलरक्षकले क्रोएसियाविरुद्ध जस्तै प्रदर्शन गरे भने नाइजेरियाका लागि यो एकदमै सहज हुनेछ । नाइजेरियाको गोलरक्षक पनि बलिया छन् । यस्तोमा संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि गोल निकाल्न सजिलो हुने छैन । अर्कातिर नाइजेरिया काउन्टर एट्याकमा पनि माहिर छ ।

नाइजेरियाले अघिल्लो खेलमा आइसल्यान्डलाई २-० ले हराएको थियो । यदि उसले अर्जेन्टिनालाई हरायो भने नकआउट चरणमा लगभग स्थान तय हुनेछ ।

यी दुई टिमको विगत हेर्ने हो भने अहिलेसम्मका चारै खेलमा अर्जेन्टिनाले बाजी मारेको छ। उसले पछिल्लो विश्व कपमा नाइजेरियालाई ३-२ ले हराएको थियो । त्यो खेलमा मेसीले २ गोल गरेका थिए । तर यो खेल अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेपछि खेलिएको थियो । अहिले अवस्था फरक छ, संकटको अवस्थामा विश्वभरका फुटबल फ्यानको नजर अहिले मेसीमा अडिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com