नयाँ हवाई रुटका लागि आजबाट भारतसँग वार्ता


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

बिहीबारबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको छ ।

अब दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुटहरुबारे टुंगो लगाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ ।

‘यो वार्तामा कुल गरी महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुन्छ,’ लामिछानेले भने, ‘भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिन प्रस्ताव राख्छौं ।’

अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथा माथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।

यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन । विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठेरो पर्ने भारतको भनाइ छ ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५/७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।

अब भारतसँग यी विमानस्थलका लागि रुट माग गर्ने सरकारको योजना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com