साझा नेपाली समाज युकेको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व छान्ने जिम्मा निर्वाचन समितिलाई
प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार
साझा नेपाली समाज युकेको चौथो अधिवेशन सम्पन्न भएको छ । नटिंघमको म्यान्सफिल्डमा रहेको गोरखा जंग्सन रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले विधान, प्रतिवेदन र आगामी योजनाहरु समेत पारित गरेको छ ।
अधिवेशनमा तत्कालिन अध्यक्ष रणबहादुर केसीले पूरानो कार्यसमिति विघटनको घोषणा गर्नुभयो । नयाँ कार्यसमितिको घोषणाको जिम्मा निर्वाचन समितिलाई दिइएको छ । निर्वाचन समितिमा संयोजक दयानिधी सापकोटा र सदस्यहरु तारानाथ भण्डारी, गंगा गौतम रहनुभएको छ ।
अधिवेशनको उद्घाटन तत्कालिन अध्यक्ष रणबहादुर केसी, पूर्व अध्यक्ष गंगा गौतम, पूर्व उपाध्यक्ष तथा एनआरएनए बेलायतका सचिव तारानाथ भण्डारीले संयुक्त रुपमा ब्यानर अनावरण र पानसमा बत्ति बालेर गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य पिटरबोरो नेपाली समाजका अध्यक्ष पवन शर्माले दिनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।
अधिवेशनमा साझाका संस्थापक सदस्य केशव भण्डारीकी स्वर्गीय आमा र पिटरबोरो नेपाली समाजकी सल्लाहकार स्वर्गीय मिना पौडेलको आत्माको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गरियो भने एक मिनेट मौनधारण समेत गरियो । कार्यक्रम नेपाली राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो । कार्यक्रमको संचालन साझाका तत्कालिन महासचिव हरिकृष्ण कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा न्युयोर्कका पत्रकार किशोर पन्थीबाट लिखित महाभूकम्पमा आधारित पुस्तक ‘कम्पन’को परिचय गराइनुका साथै पुस्तकका लेखकले पुस्तकबारे बोल्नुभएको थियो । पत्रकार पन्थीको पुस्तक कम्पन आजदेसख अमेजन युकेमा समेत उपलब्ध छ । पुस्तकको विश्वब्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो भने त्यसअगाडि पूर्व प्रधानमन्त्रीहरुबाट नेपालमा लोकार्पण गरिएको थियो ।
अधिवेशनबाट पारित पाँचबुदे प्रस्ताव
क) यस क्षेत्रमा रहेका नेपालीहरुलाई आपतविपत पर्दा सहयोग गर्नका लागि र नेपालमा दैबीप्रकोपका बेलामा सहयोग गर्दा स्थानीय संस्थाहरुले छुट्टा छुट्टै र बिकेन्द्रीत रुपमा नगरी साझा नेपाली समाज युकेमार्फत नै गर्नुपर्नेछ । र, त्यस्ता सहयोगको नेतृत्व साझा नेपाली समाज युकेले लिनेछ ।
ख) यसक्षेत्रबाट एनआरएनए लगायतमा अन्य संघसंस्थामा प्रतिनिधित्व गर्दा साझा नेपाली समाज युकेले स्थानीय संस्थाहरुसँगको समन्वयमा त्यस्ता प्रतिनिधिहरु पठाउनेछ । त्यसको नेतृत्व साझाले गर्नेछ ।
ग) स्थानीय संस्थाहरुसँग समन्वय गरी बर्षको एकपटक साझा नेपाली समाज युकेले समर पिकनिक वा अतिरिक्ति कृयाकलाप वा नेपाली कला तथा संस्कृति झल्किने कार्यक्रम गर्नेछ ।
घ) साझा नेपाली समाज युकेमा आवद्ध नभएका इंगल्याण्ड अन्तरगत मिडल्याण्ड र यसको आसपासमा अस्तीत्वमा रहेका नेपाली संस्थाहरु तथा व्यक्तिहरुलाई साझा नेपाली समाज युकेको सदस्यता दिलाई आबद्ध गराउन कृयाशित रहनेछ ।
ङ) साझा सम्बद्ध संस्थाहरुसँगको सम्बन्ध सुमधुर बनाउन नियमित छलफल र अन्तरकृया कार्यक्रम गरिनेछ ।